नेपालको पानी, जनताको लगानी, पहिलो आवेदन प्रधानमन्त्रीको

1115
views

काठमाडौँ, ७, चैत ।जलविद्युत् आयोजनाहरूमा सर्वसाधारणको स्वामित्व स्थापित गर्ने लक्ष्यसहित सरकारले घोषणा गरेको जनताको जलविद्युत् आयोजना कार्यक्रम बिहीबारदेखि कार्यान्वयनमा आउँदैछ ।

गत फागुन २ गते कार्यक्रम घोषणाका क्रममा गरेको बाचाअनुरुप प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट सेयरका लागि पहिलो आवेदन भर्नुहुनेछ ।

प्रधानमन्त्री ओलीले कार्यक्रम अन्तर्गत माथिल्लो त्रिशूली थ्रि बी आयोजनाका लागि ग्लोबल आईएमई क्यापिटलमार्पmत अनलाइन आवेदन भर्ने कार्यक्रम तय भएको छ । कार्यक्रम घोषणागर्ने क्रममा उहाँले ३५ दिनभित्र आफैले आवेदन भर्ने घोषणा गर्नुभएको थियो ।

‘नेपालको पानी जनताको लगानी, सबै नेपाली विद्युत्को सेयरधनी’ भन्ने मूलनाराका साथ घोषणाा गरिएको कार्यक्रमबाट जलविद्युत्मा करिब सात खर्ब रुपियाँ लगानी जुटाउने सरकारको लक्ष्य छ । त्यसका लागि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले हाललाई तीन हजार ४७९ मेगावाट क्षमताका १९ वटा जलविद्युत् आयोजना निश्चित गरिसकेको छ । मन्त्रालयले कार्यक्रमका लागि आवश्यक कार्यविधिमा यसअघि नै पारित गरिसकेको छ ।

कार्यक्रम अन्तर्गतका आयोजनाको सेयर स्वामित्वमा ५१ प्रतिशत सरकारी स्वामित्वका कम्पनी र ४९ प्रतिशत सर्वसाधारणको सेयर रहने व्यवस्था गरिएको छ । त्यसमध्ये १० प्रतिशत आयोजना प्रभावित क्षेत्रका सर्वसाधारणका लागि छुट्याइएको छ भने बाँकी ३९ प्रतिशत आमसर्वसाधारणका लागि छुट्याउने व्यवस्था गरिएको छ ।

जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत पहिलो पटक माथिल्लो त्रिशूली थ्रि बीको शेयर आह्वान भएको हो । यही चैत १ गते सार्वजनिक सूचना गरी माथिल्लो त्रिशूली जलविद्युत् कम्पनीले प्रतिकित्ता एकसय रुपियाँदरका ३५ लाख ९३ हजार ८५० कित्ता सेयर सर्वसाधारणका लागि बिहीबारदेखि आवेदन लिने तय गरेको थियो ।