अन्तराष्ट्रिय कराँतेमा नेपाल समूह विजेता

760
views

पटना । २० स्वर्ण पदकसहित नेपाल भारतको पटनामा सम्पन्न अन्तराष्ट्रिय खुला कराँते तथा किक बक्सिङ च्याम्पियनसिपमा समूह विजेता बनेको छ । पटनास्थित पाटलीपुत्र स्पोर्टस कम्प्लेक्समा मङ्गलबार राति सम्पन्न प्रतियोगिताका विभिन्न स्पर्धामा नेपालको कराँते डो मिसन सङ्घको राष्ट्रिय टोलीले २० स्वर्ण पदक जितेको हो ।

च्याम्पियनसिपमा नेपाल प्रथम, भारत द्वितीय र बङ्गलादेश तृतीय भएको अलइन्डिया सितोरयो कराँते डो एकेडेमीका अध्यक्ष राजु थापाले जानकारी दिए ।

च्याम्पियनसिपमा नेपाली खेलाडी रुपा रानाले काता र कुमितेतर्फ दुइ स्वर्ण पदक प्राप्त गरिन् । रानाले १९ वर्षमाथिको (सिनियर) उमेर समूहतर्फ ५० केजी तौल समूहको स्पर्धामा स्वर्ण पदक प्राप्त गरेकी हुन् । सुर्खेत गुरुबाकोट नगरपालिकाकी रानाले यसअघि भारतको पुनामा भएको प्रतियोगितामा समेत स्वर्ण पदक प्राप्त गरेकी थिइन् । रानासँगै सिनियरतर्फ सन्तु थारू ५५, छिरीङ गुरुङ ६५, दिलबहादुर बुढाथोकीले ७० केजी तौल समूहको स्पर्धामा नेपाललाई स्वर्ण पदक दिलाए ।

१९ वर्षमुनिको जुनियरतर्फको स्पर्धामा सञ्जय चौधरीले ७० केजी तौल समूहमा स्वर्ण पदक प्राप्त गरे । १७ वर्षमुनिको (सव जुनियर) उमेर समूहमा शिवानी बस्नेत ५०, डिबिन गुरुङ ५०, रोशन राना ६० र सुनिल रावलले ५५ केजी तौल समूहको स्पर्धामा स्वर्ण पदक प्राप्त गरे ।

१४ वर्षमुनिको (केडर) उमेर समूहमा प्रियङ्का थापा ५५, इशा सारु ४०, शाहील गुरुङ ३५, जप्वन पुन ४०, मिलन श्रीस ४५, सरोज क्षेत्रीले ५५ केजी तौल समूहको स्पर्धामा स्वर्ण पदक प्राप्त गरे । यसैगरी १० वर्षमुनिको (सवकेडर) उमेर समूहमा अमीषा पोखरेल ३०, आदित्य क्षेत्री २०, विवेक सेन ठकुरी २५ र गौरव पौडेलले ३० केजी तौल समूहको स्पर्धामा स्वर्ण पदक हात पारको मिसन सङ्घका केन्द्रीय सचिव गिरी पुनले जानकारी दिए ।

यसैगरी प्रतियोगितामा सिनियरतर्फ कुमिते र किक बक्सिङमा नेपालकी दिलमाया कोइराला, बिपीन राना र सञ्जयकुमार चौधरीले रजत पदक प्राप्त गरे । केडरतर्फ आकृति राना र प्रसुन शाहीले रजत पदक प्राप्त गरे भने नेपालका यमन सोती मगरले कास्य पदक हात पारे । भारत, बङ्गलादेश, भुटान, श्रीलङ्कालगायतका देशका २२१ खेलाडीले भाग लिएको च्याम्पियनसिपमा नेपालका २६ खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको कराँते महासङ्घ प्रदेश नं ५ का अध्यक्ष भरतबहादुर केसीले बताए ।