संयुक्त संघर्षमा पाँच कम्युनिस्ट पार्टी

2333
views

काठमाडौं । वर्तमान व्यवस्थाको विकल्पको रुपमा उदाईरहेको क्रान्तिकारी शक्तिका बीच संयुक्त संघर्षका लागि पाँच कम्युनिष्टहरुको कार्यगत एकता भएको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले देश र जनताका विरुद्ध गरेका गम्भीर राष्ट्रघात र जनघातका विरुद्ध नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (ऋषि कट्टेल), नेकपा (माओवादी केन्द्र) बीच संयुक्त संघर्ष गर्ने सहमति भएको हो ।

एकताको मुख्य ऐजेण्डा

१. जन्मका आधारमा नागरिकता भएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिनका लागि सत्ता पक्षबाट चालु संसदमा प्रस्तुत संशोधन प्रस्ताव विचाराधीन रहेकै अवस्थामा गृहमन्त्रालयले सर्कुलर जारी गर्दै वंशजको नागरिकता वितरण गरिएकोमा हामी त्यसको भत्र्सना गर्दछौँ र संशोधन प्रस्तावलाई फिर्ता लिई उक्त सर्कुलरका आधारमा वितरण गरिएका नागरिकता रद्द गर्न माग गर्दछौँ ।

२. भारतले तयार पारेको नक्कली नक्सामा नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरा भारतमा गाभेर हाम्रो ३७२ वर्ग किलोमिटर जमिन गायब पारिएको छ । उक्त नक्सामाथि प्रतिबन्ध लगाएर नेपाल सरकारले आफ्नो भूभाग सुरक्षित भएको नक्सा तयार पार्न हामी माग गर्दछौं ।

३. राजनीतिक पूर्वाग्रहका आधारमा नेकपामाथि जुन प्रतिबन्ध लगाइएको छ, त्यसलाई तुरुन्त खारेज गर्न माग गर्दछौँ ।
४. वाइडबडी विमान प्रकरणमा संलग्न भ्रष्टाचारीहरु तथा हालै प्रधानमन्त्री निवाससहित वातुवाटारको जग्गा व्यक्तिका नाममा लैजाने भ्रष्टाचार काण्डमा संलग्न सबैलाई कारवाहीको माग गर्दछौँ । एन सेलले तिर्नु पर्ने पर्ने अरबौं रुपैयाँ कर तुरुन्त असुली गरियोस् भन्ने माग गर्दछौँ ।

५. तस्करीको ३८ क्वीन्टल र साढे ३३ किलो सुन कहाँ छ ? त्यो सार्वजनिक गरी संलग्नहरुमाथि कारवाही गरियोस् ।
६. कञ्चनपुर भीमदत्त नगरपालिकाकी किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न अपराधीहरुलाई सार्वजनिक गरी कार्वाही गरियोस् ।”

क्रान्तिकारी माओवादीका तर्फबाट महासचिव मोहन वैद्य‘किरण’, नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट सुलभ, नेपाल कम्युनिस्ट पार्टी (ऋषि कट्टेल)को तर्फबाट अध्यक्ष ऋषि कट्टेल, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको तर्फबाट अध्यक्ष सीपी गजुरेल, नेकपा (माओवादी केन्द्र)बाट कर्णजीत बुढाथोकीले हस्ताक्षर गरेका छन् ।