राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

1098
views

काठमाडौं । मित्रराष्ट्र चीनको ९ दिने राजकीय भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फिर्ता हुनुभएको छ ।

राष्ट्रपति भण्डारी स्वास्थ्यमा समस्या आएपछि निर्धारित समयभन्दा एकदिन अगावै आज स्वदेश फिर्ता हुनुभएको हो । राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार हाई अल्टिच्युटका कारण राष्ट्रपति भण्डारीलाई ल्हासामा स्वास्थ्य समस्या देखिएको थियो ।

राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरु लगायत संवैधानिक अंगका प्रमुखहरुले स्वागत गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारी गत बैशाख ११ गते चीन प्रस्थान गगर्नुभएको थियो । भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना भएको दोस्रो ’बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन’मा सहभागी हुनुभएको थियो ।

उहाँले चिनिया समकक्षी सि चिनफिङसँग दुईपक्षीय भेटवार्ता गर्नुभएको थियो भने भेटकै अवसरमा पारवहन प्रोटोकलसहित विभिन्न ७ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।