नेपाली सेनाले हावाहुरी पीडितका घर बनाउन थाल्यो

726
views

बारा । नेपाली सेनाले बारा पर्सा हावाहुरी पीडितका घर बनाउन थालेको छ । नेपाल सरकारको मन्त्रिपरिषदको निर्णय अनुसार बारा र पर्सा जिल्लाको हावाहुरी प्रभावित क्षेत्रमा ‘जनता आवास’ (बारा र पर्सा) कार्यक्रम संचालनार्थ विभिन्न १२ ठाउँमा १२ वटा समूह बनाएर एकै पटक घर निर्माणमा जुटेको हो ।

बैशाख १४ गतेबाट नेपाली सेना आवश्यक बन्दोबस्ति तयारीका साथ तैनाथ भएको थियो । सोही बमोजिम उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउतबाट शिलान्यास भई शुभारम्भ भएको हो ।

‘जनता आवास’ कार्यक्रमको क्रममा फेटा गाउँपालिका–६ पुरैनियामा उपप्रधान एवं रक्षामन्त्री पोखरेल, परवानीपुर–४ चैनपुरमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव, प्रसौनी गाउँपालिका–४ खटुवाजग्दीमा गृहमन्त्री रामबहादुर थापा, बीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुरमा उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन, सुवर्ण गाउँपालिका–४ हर्दियामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, पचरौता नगरपालिका–७ बेनौलीमा संघिय मामिला तथा सामान्य प्रसाशनमन्त्री लालबाबु पण्डित, फेटा गाउँपालिका–४ भलुहीमा महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले लिन्यास गरे ।

यस्तै वीरगञ्ज महानगरपालिका–५ उदयपुर घुर्मीमा खानेपानीमन्त्री बिना मगर, फेटा गाउँपालिका–४भरवलीयामा सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई, महागढीमाई नगरपालिका–७ तेलगाईमा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्याल, कलैया उपमहानगरपालिका–१३ छोट्कीफुलबारिया र देवताल गाउँपालिका–७ रामपुर्वामा प्रदेश नं. २ का मुख्यमन्त्री राउतले नवनिर्माणाधीन घरहरुको शिलान्यास गरेका हुन् ।

हावाहुरी प्रभावित क्षेत्र पर्सामा ९१ घर र बारामा १३ सय ६२ घर गरी जम्मा १४ सय ५३ घरहरु निर्माणका लागि विभिन्न १२ ठाउँमा नेपाली सेनाका इन्जिनियरहरुलगायत तीसय ३२ जना दक्ष जनशक्ति परिचालित गरिएको छ ।

नेपाली सेनाले तीन चरणमा सम्पन्न गरिने उक्त ‘जनता आवास’ कार्यक्रम अन्तर्गत पहिलो चरणमा चारसय ८२ घरहरु जेष्ठ २६ गते भित्र, दोस्रो चरणमा चारसय ८२ घरहरु आषाढ २८ गते भित्र र तेस्रो चरणमा चारसय ८९ घरहरु श्रावण ३० गते भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य नेपाली सेनाले लिएको छ ।