काठमाडौं, २२, वैशाख । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा लिग चरणका खेलहरु आइतबार (आज) सकिँदैछन् । आजका खेलहरुपछि ‘प्लेअफ’मा पुग्ने चौथो तथा अन्तिम टोलीको टुंगो लाग्नेछ ।
आज किंग्स इलेभेन पन्जाब र चेन्नाई सुपर किंग्स भिड्दा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्स्सित खेल्नेछ । यसअघि, शनिबार रातिको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरसित पराजित भएपछि सनराइजर्स हैदरावादको प्लेअफमा पुग्ने सम्भावना कमजोर भएको छ । खेलमा बैंग्लोरले हैदरावादलाई ४ विकेटले हराएको हो ।
शनिबारकै पहिलो खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ५ विकेटले हराएको थियो । यो जितसँगै दिल्लीले फाइनल क्वालिफायरमा पुग्ने सम्भावना बलियो पारेको छ ।
लिगमा १४ खेलबाट १८ अंक जोडेको दिल्ली दोस्रो स्थानमा छ । एक खेल कम खेलेको चेन्नाई समान १८ अंकसहित शीर्ष स्थानमा रहेको छ ।
१३ खेल नै खेलेको मुम्बई १६ अंकसहित तेस्रो स्थानमा रहँदा चौथो स्थानको हैदरावाद र पाँचौं स्थानको कोलकाताको समान १२ अंक छ । हैदरावादले लिग चरणका सबै खेल खेलिसकेको छ भने कोलकाताले एक खेल खेल्न बाँकी छ ।
आजको खेलमा मुम्बईलाई पराजित गरेको खन्डमा वा अंक बाँडेको अवस्थामा पनि कोलकाता प्लेअफ चरणमा पुग्नेछ भने हैदरावाद लिग चरणबाटै बाहिरिनेछ ।