नीति तथा कार्यक्रम बहुमतले पारित

590
views

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले आर्थिक वर्ष २०७६ र ७७ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २० गते शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभरको तुइन विस्थापन गरेर झोलुङ्गे पुल निर्माण गर्ने कार्यक्रमलाई तीव्रता दिइएको बताए । उनले दार्चुलास्थित महाकाली नदीमाथि तुइन विस्थापन गरी झोलुङ्गे र पक्की पुल निर्माण गर्ने काम भइरहेको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले दार्चुलाका धौलाकोटलगायत स्थानमा तुइन विस्थापन भई झोलुङ्गे पुल बनेको, सुर्केगाडमा पक्की पुल निर्माण भइरहेको थप चार झोलुङ्गे पुल बोलपत्र आह्वान गरी निर्माण भइरहेको जानकारी दिए ।
सशस्त्र द्वन्द्वका घाउ अन्त्य गर्नेतर्फ सरकार सचेत रहेको प्रष्ट पार्दै प्रधानमन्त्रीले द्वन्द्वमा परी घाइते भएका व्यक्तिको उपचार गर्ने र उनीहरुको सहज जिवनयापनका लागि सरकारको ध्यान गएको बताए ।

गरीब घरपरिवारको व्यवस्थापन गर्न सरकार क्रियाशील ढङ्गबाट अघि बढेको बताउँदै उनले अहिलेसम्म गरीबका लागि आठ हजार आवास निर्माण गरी हस्तान्तरण गरिएको जानकारी दिए । प्रधानमन्त्रीले राष्ट्रिय मानवअधिकार आयोग आफ्नो संवैधानिक अधिकार प्रयोग गर्न स्वतन्त्र रहेको प्रष्ट पारे ।

प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख २७ गते बिहान ११ बजे बस्नेछ ।