नीति तथा कार्यक्रम देश बनाउने सपना–ओली

672
views

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले २०७६ र ७७ का लागि ल्याएको नीति तथा कार्यक्रम लोकतन्त्रलाई व्यापक अर्थमा प्रयोग र रक्षा गर्ने हिसाबले ल्याइएको बताएका छन् । प्रधानमन्त्रीले नीति तथा कार्यक्रमबारे संसदमा उठेका प्रश्नको जवाफ दिदैं नीति तथा कार्यक्रमले लोकतन्त्रको संवर्द्धन र सुदृढीकरण गरेको बताएका हुन् ।

संसदमा विपक्षी दलहरुले दिउँसै सपना देखेको भनेर नीति तथा कार्यक्रमबारे आलोचना र टिप्पणी गरेपछि सपनाको उत्तर दिँदै प्रधानमन्त्री ओलीले भने ‘सपना राति मात्रै देखिने कुरा हो । यहाँ सपनाको कुरा गरेको राति देख्ने सपनाको हैन । यो देश बनाउने, भविष्यको सपना हो ।’

प्रधानमन्त्रीले सुन तस्करीबारे प्रश्न गर्दै ३८ सय क्वीन्टल सुन तस्किर भयो रे, तर कहाँ गयो त्यो सुन ? तस्करी भएपछि मात्र थाहा भयो भन्दै उल्टै प्रश्न गरेका छन् ।

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रमले अलिक दूरगामी भिजन राखेको भन्दै ‘सामाजिक जीवन पद्धति, अभ्यास र आचरणसम्म र्पुयाउने नीति तथा कार्यक्रम भएको बताएका छन् ।

उनले नीति तथा कार्यक्रमका सपनाले देश बनाउने कुरा गरेको र संकल्प र अठोट पनि बोकेको बताए ।

ओलीले नीति तथा कार्यक्रमले राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय र समानताको प्रश्न, समानता र न्यायको प्रश्न, मानवअधिकारको प्रश्न र सर्वोपरी रुपमा आर्थिक समृद्धिको प्रश्नलाई विषय बनाएको बताएका छन् ।

उनले राष्ट्रियता, स्वाधीनता, राष्ट्रिय हित र राष्ट्रिय स्वाभिमानलाई उच्च स्थानमा अत्यन्तै महत्वका साथ राखेको बताए। सोही अनुरुप नीति र योजना प्रस्तुत भएको दाबी गर्दै नीति तथा कार्यक्रममार्फत वास्तविक लोकतन्त्रको कुरा गरेको उनको भनाई छ ।

राजनीतिक स्वतन्त्रता, मौलिक हक, बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त, स्वतन्त्र न्यायलय, स्वतन्त्र प्रेसजस्ता कुरा यस नीति कार्यक्रमले आफ्नो मूल्यमान्यताको रुपमा प्रस्तुत गरेको प्रधानमन्त्रीले बताए ।