म्याग्दी जिल्लाको स्थानिय सरकारलाई डेढ अरब अनुदान

1563
views

सीतारामा थापा
म्याग्दी । म्याग्दी जिल्ला स्थानीय तहको सरकारले आ.व. २०७६ र ७७ का लागि संघीय सरकारबाट करिब डेढ अरब रुपैयाँ अनुदान बिनियोजन गरिएको छ ।

अर्थ मन्त्रालयले आज अन्तरसरकारी वित्तीय हस्तान्तरण शिर्षकमा देश भरका स्थानीय तहहरुले पाउन अनुदान बजेटको विवरण सार्वजनिक गरेको हो । विवरण अनुसार म्याग्दीका छ वटा स्थानीय तहले वित्तीय समानीकरण र सशर्त शिर्षकमा एक अरब ४६ करोड ६९ लाख रुपैयाँ अनुदान पाउने भएका छन् । यो समपुरक र विशेष अनुदान बाहेकको बजेट हो ।

जिल्लाका स्थानीय तहले वित्तीय समानीकरण शिर्षकमा पचास करोड १४ लाख र सशर्तमा ९६ करोड ५५ लाख रुपैयाँ बजेट पाउने भएका हुन् । सबैभन्दा बढी बेनी नगरपालिकाले ३६ करोड १३ लाख र कम धवलागिरी गाउँपालिकाले १९ करोड ३३ लाख रुपैयाँ अनुदान पाउनेछन् ।बेनी नगरपालिकाले वित्तीय समानिकरणमा १२ करोड १४ लाख र शशर्तमा २३ करोड ९९ लाख रुपैयाँ अनुदान पाउनेछन । यस्तै धवलागिरी गाउँपालिकाले वित्तीय समानीकरणमा सात करोड १८ लाख र शशर्तमा १२ करोड १५ लाख बजेट बिनियोजन भएको छ ।

अन्नपूर्ण गाउँपालिकाले वित्तीय समानिकरणमा सात करोड ११ लाख, शशर्तमा १६ करोड ८३ लाख गरि कुल २३ करोड ९४ लाख अनुदान र मंगला गाउँपालिकाले वित्तीय समानिकरणमा सात करोड ७३ लाख, शसर्तमा १२ करोड ८७ लाख गरि कुल बीस करोड साठी लाख , मालिका गाँउपालिकाले वित्तीय समानिकरणमा आठ करोड ३२ लाख, शशर्तमा १३ करोड ८९ लाख र कुल २१ करोड २१ लाख, रघुगंगाले वित्तीय समानिकरणमा सात करोड ६६ लाख, शसर्तमा १३ करोड ८२ लाख र कुल २१ करोड ८४ लाख रुपैयाँ अनुदान पाउने गरि बिनियोजन भएको छ।वित्तीय समानिकरण अनुदान स्थानीय तहले योजना तथा कार्यक्रम बनाएर खर्च गर्छन् । शसर्त अनुदान शिर्षकको बजेट संघीय सरकारले तोकेका योजना तथा कार्यक्रम, कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीको तलबभत्तामा खर्च हुन्छ ।

जनसंख्या, भुगोल लगायतका आधारमा अनुदान बाँडफाड हुने गर्छ । स्थानीय तहहरुले संघीय सरकारका अतिरिक्त प्रदेश सरकारबाट पनि अनुदान पाउँछन् । संघीय र प्रदेश सरकारको अनुदान, आन्तरिक आयस्रोत र चालू आर्थिक वर्षमा खर्च हुन नसकेको बजेटलाई अनुमान गरेर बजेट बनाउने प्रक्रिया छ । स्थानीय तहहरु आगामी आर्थिक वर्षका लागि योजना छनौट र बजेट बनाउने तयारीमा जुटेका छन। स्थानिय तहमा यति धेरै बजेट आए पनि चुहावट नियन्त्रण नगरेको नागरिक समाज र ग्रामिण जनताहरुको गुनासो छ ।