दुर्गममा अझै पुगेन पाठ्यपुस्तक

1047
views

रारा (मुगु), २१, जेठ । नयाँ शैक्षिक सत्र शुरु भएको दुई महिना पुगिसक्दा मुगु जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकामा रहेका विद्यालयहरुमा अध्यनरत विद्यार्थीको हातमा किताब पुगेको छैन ।

किताब बिक्रीवितरणको जिम्मा लिएका स्टेशनरी तथा वितरकहरुले आवश्यक किताब समयमै ढुवानी गरेर बिक्रीवितरण गर्न नसक्दा जिल्लाका चार स्थानीय निकायमध्ये सोरु गाउँपालिकामा रहेका ४१ विद्यालयले शैक्षिक सत्र शुरु भएको दुई महीना हुन लाग्दा पनि किताब पाउन नसकेका हुन् ।

‘‘विद्यालय खुलेको दुई महीना भइसक्यो किताब अझै पाएका छैनौँ’’, भवानी मावि पुरुमुरु कक्षा १० मा अध्ययनरत विद्यार्थी पूर्ण शाहीले भने, ‘‘विद्यालयमा रहेका पुराना केही किताबबाट शिक्षकले पढाउने गर्नुभएको छ ।

कक्षा ६ देखि १० सम्मको किताब जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेश सुर्खेत कार्यालय र कक्षा १ देखि ५ सम्मका किताब काठमाडाँैका निजी प्रकाशनबाट ल्याई छाँयानाथ रारा नगरपालिका, मुगु मकार्मारोङ्ग र सोरु गाउँपालिका सबै विद्यालयलाई बिक्रीवितरण गर्ने जिम्मा सदरमुकाम गमगढीमा रहेका केबी, जयलक्ष्मी, त्रिशक्ति र अविनाश स्टेसनरी तथा सप्लायर्सले जिम्मा लिएका छन् ।

पहिलो पटक ल्याएका किताब छाँयानाथ रारा नगरपालिका र मुगु मकार्मारोङ्ग गाउँपालिकाका सबै विद्यालयलाई बिक्रीवितरण गरेका थिए । सोरु गाउँपालिकाका ४१ विद्यालयका लागि ल्याएका किताब सुर्खेतको न्यू मनकामना ढुवानी सेवामा रहेका छन् । ढुवानी गर्न ढिलो गरेकाले सोरु गाउँपालिकाका ४१ विद्यालयले किताब नपाएको केबी स्टेशनरीका सञ्चालक केशव चौलागाईंले बताए ।

सोरु गाउँपालिकामा शैक्षिकसत्र शुरु भएको दुई महीना हुन लाग्दासमेत किताब नपुग्दा ४१ विद्यालयका कक्षा १ देखि ५ सम्मका दुई हजार ८६४, कक्षा ६ देखि १० सम्मका ६०५ जना विद्यार्थीले किताब विद्यार्थीहरु पढ्नबाट वञ्चित भएका विजय माविका शिक्षक वीरबहादुर बमले बताए ।