नवलपुर, २, असार । क्रान्तिकारी पत्रकार महासंघ नवलपुरले नेपाल पत्रकार महासंघ नवलपुरको कार्यालयमा तालाबन्दी गरेको छ । नेपाल पत्रकार महासंघ नवलपुरमा सदस्य शुद्धिकरण, नयाँ सदस्यता वितरण र नयाँ सदस्यता शुल्क लगायतको विषयलाई लिएर तालाबन्दी गरेको हो ।
क्रान्तिकारी पत्रकार महासंघ नवलपुरका अध्यक्ष लोकनाथ पंगेनीका अनुसार नेपाल पत्रकार महासंघ नवलपुरले सदस्यता शुद्धिकरण नगरी नयाँ सदस्यताको नाममा गैर पत्रकारहरुलाई भर्ति गर्ने र श्रमजीवि पत्रकारहरुलाई महासंघको सदस्य लिनबाट बञ्चित हुने गरी कार्य गरेको भन्दै तालाबन्दी गरिएको हो ।
क्रान्तिकारी पत्रकार महासंघ नवलपुरका अध्यक्ष लोकनाथ पंगेनी, सचिव शोभा जिसी, सहसचिव भीम राना सहितको टोलीले महासंघको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
तालाबन्दीसँगै जारी प्रेस विज्ञप्तिमा नेपाल पत्रकार महासंघ नवलपुरमा रहेको नेतृत्व पंक्तिले महासंघलाई पत्रकारहरुको छाता संगठनको रुपमा विकास गर्न भन्दा पनि दलको भातृसंगठनको रुपमा विकास गर्दै लगेको आरोप लगाएको छ ।
क्रान्तिकारी पत्रकारले नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरण, नयाँ सदस्यता वितरण, सदस्यता शुल्क लगायतको विषय समाधानका लागि क्रान्तिकारी पत्रकार महासंघ लगायत पत्रकारसँग सम्बन्धित अन्य पेशागत संगठनहरु सहितको प्रतिनिधिहरुको सहभागिता हुने गरी एउटा विशेष समिति बनाएर समाधान खोज्न माग गर्दै तालाबन्दी गरेको जनाएको छ ।
कतिपय महासंघको सदस्यता खुलेको थाहा पाएर कार्यालयमा फारम बुझ्न सदस्यताको लागि निवेदन बुझाउँन आउँदा कार्यालयमा कर्मचारी राखेपनि कार्यालय सधैं बन्द भएका कारण निवदेन बुझाउन नपाएको समेत गुनासो गरेका छन् ।