पुडासैनी मृत्यु प्रकरण : ‘सीआइबी’को टोली चितवनमा, पोष्टमार्टम रिर्पोट आयो

2012
views

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा सहयोग पु¥याउन केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआइबी’को टोली चितवन पुगेको छ । घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता एसपी दीपक रेग्मी सहित केही अधिकृत गरी पाँचजनाको टोली अनुसन्धानका लागि चितवन आएको हो ।

यसैबीच चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या गरेको अवस्थामा भेटिएका पत्रकार शालिकराम पुडासैनीको पोष्टमार्टम रिर्पोट पनि चितवन प्रहरीलाई प्राप्त भएको जनाइएको छ ।

१० दिन लगाएर तयार गरिएको उक्त पोष्टमार्टम रिर्पोटको बारेमा भने प्रहरीले खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय चितवनले उक्त रिर्पोट अहिले खुलाउन नमिल्ने बताउँदै सबै अनुसन्धानपछि नै बताउने जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दान बहादुर मल्लले भने, ‘हामी सबै प्रमाण जुटाउँदैछौं । यस क्रममा कुनै नयाँ तथ्य पनि फेला परेको छ ।’

गत २२ साउनमा आत्महत्या गरेको अवस्थामा भेटिएका पुडासैनीको काठमाडौंस्थित महाराजगन्जको शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएको थियो । १० दिन लगाएर तयार पारिएको उक्त रिर्पोटसँगै मृत्युअघि रेर्कड गरिएको भिडियोको फरेन्सिक ल्याब परीक्षण पनि भइसकेको प्रहरीले जनाएको छ । भिडियो ल्याबको रिर्पोट थप अनुसन्धानका लागि बलियो प्रमाण बनेको प्रहरीको भनाई छ ।

यसैबीच निमित्त प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको अध्यक्षतामा आइतबार जिल्लामा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले हिरासतमा रहेका तीन अभियुक्तको हकमा स्वच्छ र निष्पक्ष छानबिन गरी न्यायनिरूपण कार्यमा सहयोग गर्ने र शान्ति सुरक्षामा खलल पुर्याउने, तोडफोड गर्ने कामलाई निरुत्साहित गर्ने निर्णय गरेको छ । यस्तै पुडासैनीको मृत्यु घटनाको स्वच्छ र निष्पक्ष न्याय सम्पादन गर्न प्रहरी प्रशासनलाई सहयोग गर्न राजनीतिक दलले जनतालाई आग्रह गर्ने निर्णय भएको छ ।