खुला नकआउट फुटबलको उपाधि आयोजकलाई

630
views

श्रीभद्र पौडेल
पोखरा, १९, भदौं ।अन्नपूर्ण गाउँपालिकाको ढिकुरपोखरीमा सम्पन्न खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ । मंगलवार भएको फाइनल खेलमा ४ नं. बाहिनी पोखरालाई २–० गोलअन्तरले पछि पार्दै आयोजक ढिकुरपोखरी युवा संजालको ए समूहले उपाधि जितेको हो।संजालको जीतका लागि खेलको दोस्रो हाफमा सचिन थापा मगर र विमल रानाले समान १ गोल गरेका थिए ।

उपाधि जितेसँगै आयोजक समूहले नगद रु. एक लाख २१ हजार एक सय २१ साथमा ट्रफी, पदक र प्रमाणपत्र पाएको छ ।त्यस्तै उपविजेता बाहिनीले रु.६६ हजार ६ सय ६६ ट्रफी, पदक र प्रमाणपत्रमा चित्त बुझाएको छ । प्रतियोगिताका अधिकाशं उपाधि पनि संजालले आफ्नै पोल्टामा पार्न सफल भयो ।

जसअनुसार संजालका सचिन थापामगर सर्वाधिक गोलकर्ता २ गोल संजालकै विमल राना म्यान अफदी म्याच, संजालकै गोल रक्षक अतित गुरुङ उत्कृष्ठ गाउँपालिका खेलाडी र सर्वोत्कृष्ठ खेलाडी घोषित हुन सफल भए।त्यस्तै विष्णुपादुका क्लव हेमजा भने अनुशासित टीम भएको छ ।

समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले घान्द्रुकमा हाइअल्टीच्युडको टेनिङ सेन्टर स्थापना कार्य सुरु गरिएको जानकारी दिर्दै ढिकुरपोखरी खेलमैदानको स्तरउन्नतीका लागि पनि सघाउने प्रतिबद्घता प्रकट गरे ।त्यसका लागि गाउँपालिकालाई बिस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माण गरी मन्त्रालयमा पेश गर्न पनि उनले आग्रह गरेका थिए । प्रतिवेदन अनुसार आगामि कार्तिक महिनाभित्रमै बजेट विनियोजन गर्ने उनले जनाए ।

एन्फाका केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर थापाले ढिकुरपोखरी खेलमैदानमा आफू नखेलेको भएपनि धेरै पटक प्रतियोगिता हेर्न गएको स्मरण गरे । जिल्ला विकास समिति कास्कीका पुर्व सभापति पुण्यप्रसाद पौडेलले मैदानको उत्तरपट्टी रहेका घरघडेरीलाई मुआब्जा दिई खेल मैदानलाई विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए ।

समापन कार्यक्रममा संजालका संरक्षक कुलबहादुर गुरुङ ‘कुलु’, गाउँपालिका अध्यक्ष युवराज कुँवर ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता विष्णु केसी, अन्नपूर्ण २ का वडाध्यक्ष चुडामणि अधिकारी लगायतले पनि भनाई राखेका थिए ।

संयोजक विकास गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम संजालका महासचिव दिलबहादुर जिसीले संचालन गरेका थिए ।