पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !

858
views

पृथ्वी घुम्न पनि अझै छोडेन

परशुराम कोइराला
〈कविता〉

पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !
महामिम आदेश हो यो
किनभने पृथ्वी घुम्न नरोकिएको देखेर
महामिमहरू सबै विलखमन्द छन् ।

….घुम्न प्रतिबन्धै लगाए पनि
पृथ्वी घुम्न अझै छोडेन र त महामिमहरु विलखमन्द छन्
न हुरी र आँधी नै रोकिए
न आगाका छलाङहरु रोकिए
न विद्रोही हावा मुस्ला रोकियो
न महामिमआदेशका पालना गर्छ त्यो ,
न सरकार,मन्त्री आदेशले नै टेर्छ त्यो

हो,विल्कुल टेरेन
व्यारेक लगाउँदा टेरेन
कारावास गराउदा टेरेन
कुट्दा,पिट्दा,घिसार्दा टेरेन
मृत्यु नटेरी,पृथ्वी पनि घुमेको घुम्यै छ ।

पृथ्वी अटेर भएको छ
साझा हुँ भन्न किन छोड्दैन त्यो ?
मर्न,झुण्डिन,फुट्न किन सक्दैन त्यो ?
जिम्मुवाल(मुखिया विर्ता बनेर रोकिन किन सक्दैन त्यो ?

महामिम आदेश छ 
“आऊ एउटै जडिबुटीमा हुर्केका
हामी मोटाहरु मिलौं, एकता गरौं
मोटाघाटा नपारिउन् अरू
दुब्लाहरुका घाँसकुँडो खोस्न, गरौं बलियो एकता
घाँस,कुँडो अरूका नहुन्, नपारिऊन् …
रविहरु नहुन् अरुका.., शीतलता नहुन्
कुनै छलाङहरु नआउन् अब
चाहिन्न,पुग्यो सबै…
अग्रगामी हावा रोक्न ,छेक्न
सबै मिलेर पृथ्वी घुम्न रोक्नुपर्छ…
नमाने सुली चढाइ दिनुपर्छ …“

महामिम आदेश थपिन्छ अरु निरन्तर
“मिठो मसिनो लोभ गर्नेहरु मिलौं र
दरवार,बङ्गालासामु गोठकटेरा राख्नु हुन्न
गोरु व्याउँनु,खरायोमा सिङ पलाउनु उस्तै हो
शासकहरु मिलेर पृथ्वी घुम्न रोकौं
नयाँ हावाहुरीहरु छेकौं र आफूलाई ढल्न रोकौं चाँडै
समाजवादी यात्रा भन्दिनुपर्छ,पत्याउँछन्
ऋणले थिचिएका गोठहरुमा बरु छर्दिनु अलिअलि बुर्की
अलिकति टाठाबाठाहरु किन्नु
अलिकता लगानी गर्नु कटेरा फुटाउन,
गोठकटेरा टुक्रिएपछि भोलिका विहान हाम्रै हुनेछ…।“

महामिमका आदेश अरू थपिन्छ
“आफ्नै दरवारका भोगविलास जोगाउन
कसिङ्गरविहीन गन्तव्य खोज्नु छ र त
पृथ्वी घुम्न रोक्नु छ ….।’’

“हो,फिलिङ्गा निभेपछि नै चुलाहरु सुनसान हुनेछन्
तातो फिलिङ्गाले तर्सनु पर्ने छैन
छलाङविरोधी मकुण्डा हुनु छ र त ससाना राहत फालौं बरू तर्साउने सकिनेछन् ..
फिलिङ्ला,मुस्ला हावाहरु रोकिएपछि
पृथ्वी घुम्न रोकिने छ र बलियाहरुकै हुनेछ यो
जेल,नेल,दमन,यातना…ले नपुगे,
सुइरो उन र चढाऊ सुली..।“

बिडम्वना !
महामिमहरु विलखमन्द छन्
न हावा र मुस्ले हुरीहरु नै रोकिए
न फिलिङ्गाहरु निभेर पोल्न छोडे ती
न पृथ्वी घुम्नै रोकियो
न महामिम आदेश पालना… !
पृथ्वी घुम्न अझै छोडेन ।