प्रम ओलीलाई पदमा बस्ने हैसियत छैन्–राना

596
views

पोखरा, ९ मंसिर । नेपाली कांग्रेसकी नेतृ एवं सांसद विन्दादेवी रानाले केपी ओली सरकार पूरै असफल भइसकेको बताएकी छन् । पोखरामा आयोजित चुनावीसभालार्य संबोधन गर्दै सांसद रानाले भ्रष्टाचार, महिला हिंसा, कर, दण्डहिनता, सुशासन लगायतका विषयमा ओली सरकार असफल भएको र केपी ओलीलाई प्रधानमन्त्रीको पदमा बसिरहने नैतिक हैसियत नभएको दाबी गरिन् ।

प्रधानमन्त्री ओलीको विकास र समृद्धि कहाँ र कसरी हो त्यो आफूले बुझ्न नसकेको उनले बताइन् । ‘विकास र समृद्धि भौतिक पूर्वाधार, कृषिजन्य वस्तुको उत्पादन, दैनिक उपभोग्य सामान, युवालाई रोजगारी, धेरै भन्दा धेरै उद्योग धन्दा खोल्ने काममध्ये के–के हो ?’, उनले प्रश्न गरिन् ।

‘गत वर्षको बजेटमार्फत सबै नेपालीको बैंकमा खाता हुन्छ भन्ने तर नागरिकता वितरणमा बखेडा झिक्ने सरकारको यो रवैया के हो ? प्रष्ट पार्न आग्रह गर्दछु’, उनको भनाइ थियो । उनले मौलिक हक कार्यान्वयन गर्न पनि सरकारले कानून नबनाएकोमा आपत्ति जनाइन् ।

पोखरा–१५ की चुनावी कमाण्डर समेत रहेकी नेतृ रानाले संविधानमा २३ वटा आयोगको व्यवस्था गरिएको तर सरकार गठन भएको २ वर्ष पुग्दा समेत संविधान कार्यान्वयन नभएको भन्दै सरकारको आलोचना गरिन् ।

विकास र समृद्धिको नारा घोक्ने सरकारले दैनिक एक हजार ५०० युवा विदेशिएको टुलुटुलु हेरेर बसेको भन्दै उनले लगानीमैत्री, युवा मैत्री वातावरण सृजना गरेर विदेशिएका युवालाई स्वदेशमै काम लगाउनुपर्नेमा उनले जोड दिइन् ।

नेतृ रानाले यो चुनाव नेपाली कांग्रेसलाई जिताएर स्वदेश तथा विदेशमा सन्देश दिन आवश्यक रहेको समेत बताइन् । उनले भनिन्, ‘सरकार हिंडेका बाटाहरू गलत छन्, सच्चिएर लोकतान्त्रिक ढंगले अघि बढ्नुपर्छ भन्नकै लागि भए पनि कांग्रेसले यो चुनाव जित्नुपर्छ ।’ सरकारको गतिविधि ठीक लागेमा नेकपालाई र गलत लागेमा कांग्रेसको रुख चिन्हमा मतदान गर्न उनले आग्रह गरिन् ।