भ्रष्टाचारविरोधी प्रदर्शनमा इराकमा एकै दिनमा २५ को मृत्यु

440
views

इराकमा भ्रष्टाचारविरोधी आन्दोलनमा सरिक २५ प्रदर्शनकारीको एकै दिनमा मृत्यु भएको छ । त्यहाँका प्रधानमन्त्री अदेल अब्देल मेहदीले दक्षिण इराकको जिम्मेवारी दिँदै कमाण्डरको रूपमा खटाएका सैनिक अधिकृतलाई एकैदिनमा जिम्मेवारीबाट हटाउँदै पदबाट समेत बर्खास्तका लागि सिफारिस गरेका छन् । बर्खास्त गरिएका कमाण्डरलाई बिहीबार (१२ मंसिर) मात्र नासिरियाका लागि खटाइएको थियो ।

इराकी सेनाका प्रमुखसमेत रहेका प्रधानमन्त्री अब्देल मेहदीले बर्खास्तमा परेका जमिल सुमारीलाई नासिरियामा पठाउँदै दक्षिणी इराकका शहरी इलाकामा सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएका थिए । इराकी टेलिभिजनले प्रधानमन्त्री कार्यालयको सूचनालाई उद्धृत गर्दै सुमारीलाई जिम्मेवारीबाट हटाइसकिएको उल्लेख गरेको छ ।

इराकी राज्याधिकारको राजधानी नासिरिया प्रवेश गर्ने तीन पुल प्रदर्शनकारीले कब्जामा लिएपछि सुरक्षाकर्मीसँग भएका झडपका क्रममा नासिरियामा एकै दिनमा २५ जनाको मृत्यु भएको नाम उल्लेख नगर्ने शर्तमा एक सैनिकले बताएका एएफपीले जनाएको छ । घटनामा १०० भन्दाबढी प्रदर्शनकारी घाइते बनेका छन् । झडपमा कैयौँ सुरक्षाकर्मीसमेत घाइते भएका बताइएको छ ।

कर्फ्यूको अवज्ञा गर्दै हजारौँ नागरिकले मृत शरीरलाई शहर घुमाएपछि उनीहरूको अन्त्येष्टि गरिएको छ । प्रदर्शनकारीले नासिरियास्थित इरानी वाणिज्य दूतावासलाई नाटकीय रूपमा आगजनी गरेका छन् ।

सन् २००३ मा अमेरिकी नेतृत्वमा इराकमाथि सैनिक हस्तक्षेप गर्दै तत्कालीन शासक सद्दाम हुसेनलाई अपदस्थ गरेपछि राजधानी बग्दाद र दक्षिणमा विरोध र आन्दोलनमार्फत इराकी जनताले उनीहरूको सरकार र इरानस्थित त्यसका सहयोगीहरूविरूद्ध प्रदर्शन गर्दै आएका छन् ।

गत बुधबार राति प्रदर्शनकारीले इराकी राजनीतिमा तेहरानको प्रभावप्रति क्रोध प्रदर्शन गर्दै पवित्र स्लामिक शहर नाजाफमा रहेको वाणिज्य दूतावासमा आगजनी गरेका थिए । उनीहरूले आगजनीपछि इराकबाट इरानी हस्तक्षेप अन्त्यको घोषणा गर्दै इराकको विजय भएको भन्ने भावका नाराहरू लगाएका थिए ।

यसैबीच धिकारका शहरी क्षेत्रमा प्रदर्शनकारी हिंसात्मकरूपमा उत्रिएपछि बिहीबार मध्यान्नदेखि अर्को सूचना नहुँदासम्मका लागि सरकारले कफ्र्यू आदेश जारी गरिएको इराकी सैनिक स्रोतले जानकारी दिएको छ ।

अक्टोबरको शुरूदेखि नै राजधानी बग्दादलगायतका मध्य तथा दक्षिणी क्षेत्रमा ठूलो सहभागितासहितको प्रदर्शन जारी रहेको छ ।

प्रदर्शनकारीहरूले इराकको समग्र सुधार, भ्रष्टाचारप्रति जवाफदेहीता, सार्वजनिक सेवाहरूमा सुधार तथा रोजगारीलगायतका मागसहित करिब दुई महिनासम्म निरन्तर आन्दोलन गरिरहेका छन् ।