ट्रायथोलनमा नेपाललाई छ पदक

444
views

पोखरा– नेपालमा जारी १३ औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पोखरामा भएको ट्रायथोलन स्पर्धामा नेपालले छ पदक जितेर टिम च्याम्पियन बनेको छ । यही मङ्सिर १६ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा पाँच स्वर्ण, पाँच रजत र पाँच कास्य गरी १५ पदकका लागि भएको प्रतिस्पर्धामा नेपाल पदक तालिकामा शीर्षस्थानमा रहन सफल भयो ।

प्रतियोगितामा नेपालले छ पदक हासिल गर्दा भारतले पाँच तथा श्रीलङ्काले चार पदक जितेका छन । आयोजक नेपालले ट्रायथोलनमा एक स्वर्ण तथा एक कास्य, डुआथोलनमा एक स्वर्ण तथा दुई रजत पदक तथा मिक्स रिलेमा एक रजत पदक जितेको छ ।

ट्रायथोलन महिलातर्फको स्प्रिन्ट विधामा सोनी गुरुङ र डुआथोलन पुरुषतर्फको स्प्रिन्ट विधामा हिमाल टमटाले एक÷एक स्वर्ण नेपाललाई दिलाएका थिए ।

डुआथोलन पुरुषतर्फको स्प्रिन्ट बिधामा लक्ष्मण मल्ल र सोही बिधाको महिलातर्फ हुमी बुढा मगरले रजत पदक तथा सोनी गुरुङ, दिपेश चौधरी, केशरी थापा मगर र वसन्त थारुको टिमले ‘मिक्स टिम रिले’ मा रजत पदक दिलाए । त्यस्तै पुरुषतर्फको स्प्रिन्ट बिधाको ट्रायथलनमा बसन्त थारुले नेपाललाई कास्य पदक दिलाएका थिए ।

त्यसैगरि भारतले ट्रायथलनमा एक स्वर्ण, दुई रजत र एक कास्य तथा मिक्स रिलेमा एक स्वर्ण पदक जित्यो । श्रीलङ्काले डुआथोलनमा एक स्वर्ण र दुई कास्य तथा मिक्स रिलेमा एक कास्य पदक जितेको छ ।

प्रतियोगिता अन्तर्गत आज सम्पन्न ‘मिक्स रिल’ को फेवातालमा ३ सय मिटर पौडी, छ दशमलव पाँच किमी साइक्लिङ र साढे दुई किमी दौड एक घण्टा ३५ मिनेट २० सेकेण्डमा पूरा गरी भारतले स्वर्ण पदक जितेको छ ।

त्यसैगरी नेपालले एक घण्टा ३८ मिनेट २८ सेकेण्डमा निर्धारीत दूरी पार गरी रजत तथा एक घण्टा ४१ मिनेट २१ सेकेण्डमा तय गरिएको दूरी पार गरी श्रीलङ्काले कास्य पदक प्राप्त गरेको थियो। भारतमा सम्पन्न १२ औँ संस्करणको सागबाट ट्रायाथोलन खेल प्रतियोगितामा समावेश गरिएको थियो । १२औँ संस्करणमा नेपाले मिक्स इभेण्टतर्फ एक रजत तथा महिला व्यक्तिगतमा एक काश्य पदक जितेको थियो ।

प्रतियोगितामा नेपाललाई पदक दिलाउने खेलाडीलाई नेपाल ओलम्पिक कमिटीमा महासचिव एवं नेपाल ट्रायथोलन सङ्घका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठले व्यक्तिगत रुपमा स्वर्ण पदक विजेतालाई नगद एक लाख, रजतलाई ५० हजार र कास्य पदक विजेतालाई २५ हजार दिने घोषणा गरे । त्यसैगरी गण्डकी प्रदेशका अर्थ तथा विकास समिति सभापति दीपक कोइरालाले समेत पदक विजेता खेलाडीलाई क्रमश २५ हजार, १५ हजार र १० हजार पुरस्कार दिने बताए ।