चितुवाको हड्डी र छालासहित दैलेखमा एकजना पक्राउ

529
views

दैलेख:दैलेखमा चितुवाको छालासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका(४, तिलुखानाका ६८ वर्षीय शिवबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरि बहादुर वलीले बताए।

शाहीले आफ्नै घरमा चितुवाको छाला लुकाइछिपाई राखेको भन्ने विशेष सूचनाका आधारमा पक्राउ गरिएको उनले बताए। उनका अनुसार शाहीलाई जिल्ला प्रहरी कार्यालय, दैलेख र कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतबाट गएको संयुक्त टोलीले बुधवार दिउँसो चितुवाको छालासहित पक्राउ गरेको हो।

शाहीको घरबाट ७ फिट ८ इन्च लम्बाई र २ फिट २ इन्च चौडाइ भएको पाटे चितुवाको छालासहित पक्राउ गरेको वलीले बताए। उनका अनुसार शाहीको घरबाट दुई किलो ३० ग्राम तौल रहेका ९५ वटा चितुवाको हड्डी पनि बरामद गरिएको छ। शाहीलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय दैलेखमा पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरि बहादुर वलीले बताए ।