शुक्लाफाँटाका १२ वटै वडाका साक्षर हुन बाँकी वडाहरुमा साक्षरता अभियान सञ्चालन

409
views

 कञ्चनपुर २३,  माघ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले दुई हजार आठ सय ८२ निरक्षरलाई साक्षर बनाउन कार्यक्रम सञ्चालन गरेको छ।

नगरपालिकामा रहेका दुई सामुदायिक अध्ययन केन्द्र मार्फत नगरपालिकाका १२ वटै वडाका साक्षर हुन बाँकी नागरिकका लागि साक्षरता अभियान सञ्चालन गरेको हो।

कार्यक्रम अन्र्तगत १५ देखि ६० बर्ष उमेर समुहका निरक्षरलाई साक्षर बनाउनका लागि ८८ वटा कक्षा मार्फत साक्षर बनाईने नगरपालिकाको शिक्षा शाखाका प्रमुख टिकेन्द्रराज भट्टले बताए। निरक्षरलाई साक्षर बनाउनका लागि सहजकर्ता छनौट गरी कक्षा सञ्चालनको तयारी शुरु गरेका छौं, उनले भने, नगरपालिका क्षेत्रमा रहेका सबै निरक्षर महिला पुरुषलाई साक्षर बनाउँछौं।

फागुन ५ गते देखि निरक्षर व्यक्तिहरुका लागि कक्षा सञ्चालन गरिने र सबै जनालाई साक्षर बनाएपछि नगरलाई साक्षर क्षेत्र घोषणा गरिने भट्टले जानकारी दिए।साक्षरता कक्षा सञ्चालनका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले १० लाख र नगरपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

विनियोजित बजेटबाट साक्षरता कक्षामा सहभागी हुनेका लागि मसलन्द र कापीरकिताब खरिद गरिनुका साथै सहजकर्ताको पारिश्रमिकका लागि खर्च गरिनेछ। कार्यक्रमको प्रभावकारिताका लागि नगर प्रमुखको संयोजकत्वमा अनुगमन समिति समेत गठन गरिएको छ। वडा कार्यालयको समन्वयमा कक्षा सञ्चालन गरिनेछन्‌।