इरानमा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु

503
views

 एजेन्सी  ।  इरानमा कोरोना भनिने कोभिड नाइन्टिन भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ।

ठूलो संख्यामा संक्रमितहरु भेटिएपछि त्यहाँका एक दर्जनभन्दा बढी प्रान्तमा विद्यालयहरु बन्द गरिएको छ। साथै ति प्रान्तहरुमा सांस्कृतिक केन्द्र तथा सार्वजनिक स्थलहरु बन्द गरिएको छ।

अधिकारीहरुका अनुसार इरानमा २८ जना विरामीमा संक्रमण भएको पुष्टि भएको छ र उनीहरु उपचारमा रहेका छन्। तर मृत्यु हुने ६ जना संक्रमित पुष्टि भएर उपचार गराइरहेका २८ जना मध्येका हुन् कि होइनन् भन्नेबारे भने स्पष्ट नपारिएको समाचार संस्था अल जजिराले जनाएको छ।

यसैबीच कोभिड नाइन्टिनका कारण दक्षिण कोरियामा मृत्यु हुनेको संख्या ४ पुगेको छ। त्यहाँ ५ सय ५६ जनामा संक्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन्। उता यसको मुख्य उद्गमस्थल चीनमा भने संक्रमितको संख्या घट्दै गएको चिनियाँ अधिकारीले जनाएका छन्। वुहानमा मृत्यु हुनेको संख्या २ हजार ४ सय पुगेको छ।