एजेन्सी । इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुवारकको मङ्गलबार निधन भएको छ । उनी ९१ वर्षको थिए। करिब तीन दशक इजिप्टको नेतृत्वमा रहेका मुवारकलाई सन् २०११ मा अरब वसन्त नाम दिइएको आन्दोलनको बलमा पदच्युत गरिएको थियो ।
उनको मृत्युको पुष्टि पूर्वराष्ट्रपतिका छोरा अला मुवारक तथा राष्ट्रपतिको कार्यालयबाट सूचनालाई उद्धृत गरी राष्ट्रिय टेलिभिजनमार्फत गरिएको छ । अलाले आफ्नो ट्वीटमा भने, “हाम्रा पिता होस्नी मुवारकको ९१ वर्षको उमेरमा मङ्गलबार विहान निधन भएको छ ।” उनको अन्त्येष्टि सैन्य सम्मानका साथ बुधबार हुने जनाइएको छ ।
इजिप्टका पूर्व राष्ट्रपति अन्वर अल–सादतको इस्लामिक लडाकूद्वारा सन् १९८१ मा हत्या भएपछि मुवारक सत्तामा राष्ट्रपति बनेका थिए । सन् २०११ जनवरी २५ मा उनलाई आन्दोलनको बलमा पदच्युत गरिएको थियो।