पर्वत–बागलुङ जोड्ने एशियाकै अग्लो झोलुङ्गे पुलको निर्माण कार्य सकियो

594
views

पर्वत, १०, बैशाख । बागलुङ जिल्ला र पर्वतको कुश्मासँग जोडने गरी निर्माण भएको एशियाकै लामो झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएको छ । उक्त पुल एकवर्ष अघिदेखि निर्माण शुरु भएको पुल यसै सातादेखि सञ्चालनमा आएको हो ।

कुश्मा नगरपालिका वडा नं. १ पाङ अदुवाबारीदेखि बागलुङ नगरपालिका–१ रामरेखा जोड्ने ५ सय ६७ मिटर लामो झोलुङ्गेको निर्माण कार्य सम्पन्न भएको हो । पुल निर्माणको सम्पूर्ण कार्य सकिएको निर्माण कम्पनी थानी, बिएलटि हिमशिखर कन्स्ट्रक्सनका प्रतिनिधि नरहरी खड्काले जानकारी दिनुभयो ।

पुलको आज बैशाख ९ गते उद्घाटन गर्ने कार्यक्रम तयार भए पनि लकडाउनको कारण प्रभावित भएको खड्काले बताउनुभयो । कालिगण्डकी नदिमाथि बनेको झण्डै एक सय ३० मिटर अग्लो झोलुङ्गे पुलको लठ्ठा तान्न गाह्रो र चूनौतीपूर्ण भए पनि आधुनिक प्रविधिको सहायताले नमुना परियोजना सम्पन्न भएको ठेकेदार कम्पनीका प्रतिनिधि खडकाको भनाई छ । लकडाउन अवधिमा पनि १६ जना कामदारले नियमित काम गरेका थिए ।

निर्माणको काम सकिए पछि उनीहरु पाङतर्फको भागमा बसेका छन् । पुलमा २८ वटा लठ्ठा तानिएको छ । पुलमा कुल ९४५ वटा स्टिल डेक (फ्ल्याक) विछ्याइएको छ ।

पुलको परस्क्यार फिटमा चार जना अटन सक्ने क्षमता रहेको र पुल भरिभराउ भएपनि थेग्न सक्ने क्षमताको हुनेछ । पुल लामो हुने भएकाले बाइक संचालनमा रोक लगाइने छ । पुलको आयु ५० वर्षसम्म हुनेछ ।

पुल निर्माण पछि बागलुङ बजारसँग व्यवसायिक सम्बन्ध रहेका कुश्मा नगरपालिकाका जलजला गाउँपालिकावासी लगायतका जनताका लागि सहज पुहुँच पुग्नेछ ।

कालिगण्डकी नदीमाथि बन्ने उक्त पुल बागलुङ प्रवेशद्वार मालढुङ्गा बजार, मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोर सडक खण्डको ठिकमाथि रहेकाले पर्यटकीय दृष्टिले महत्वपूर्ण हुने कुश्मा नगरपालिका वडा नंं. १ पाङका अध्यक्ष देवेन्द्र सुवेदीले बताउनुभयो ।

‘सस्पेन्सन’ पुल बिभाग मार्फत भएको खुल्ला बोलपत्र प्रकृयाबाट निर्माणको जिम्मेवारी थानी÷विएलटी÷हिमशिखर जेभी निर्माण कम्पनीले रु.६ करोड ९१ लाख रुपैँयामा ठेक्का सम्झौता लिएको थियो । उक्त पुल नेपाली इन्जिनियरहरुले नै डिजाईन गरेका थिए ।

यो पुल एसियाकै लामो पुल भएको निर्माण कम्पनीको दावी छ । कञ्चनपुरको महाकाली नदीमा बनाइएको मल्टिस्पान प्रकृतिको चाँदनी–दोधारा पुल एशियामा लामो मानिने भएता पनि यहाँ बन्न लागेको पुल खुल्ला प्रकृतिको पहिलो हो ।

चाँदनी–दोधारा पुलमा १४÷१५ वटा टावर राखेर बनाइएको छ भने बागलुङमा बनेको पुल खुल्ला आकाशमा बनेकोले पनि यस प्रकृतिको पुल नेपालकै सबैभन्दा लामो पुल रहेको निर्माण कम्पनीका प्रतिनिधि खड्काको भनाई छ । लक्ष्मण सापकोटा