अमेरिकाले लगायो ग्रीनकार्डमाथि दुईमहिना प्रतिबन्ध

498
views

एजेन्सी, १०, बैशाख । अमेरिकाले आप्रवासीहरुमाथि थप कडाई गरेको छ । उसले ग्रीनकार्डको आवेदनमा दुई महिनाका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।ह्वाइटहाउसमा नियमित पत्रकार सम्मेलनमा अमरीकी राष्ट्रपति डोनल्ड ट्रम्पले बेरोजगार अमेरिकीहरुलाई ध्यान दिँदै इमिग्रेशनमा ६० दिनको प्रतिबन्ध लगाइएको घोषणा गरे ।

यो निर्णयमाथि अधिकारीहरुले मूल्यांकन गरी पछि परिवर्तन गर्न सकिने तर त्यसका लागि देशको अर्थव्यवस्थामा भरपर्ने पनि उनले शर्त राखेका छन् ।

यो आदेश अमेरिकामा स्थायी रुपमा बस्न चाहनेहरुका लागि लागू हुने भए पनि अस्थायी रुपमा कामका लागि अमेरिका आउनेका लागि भने यो लागू नहुने उनले बताए । प्रतिबन्धको समय अरु लम्बिन पनि सक्ने ट्रम्पले बताए । आवश्यक परेमा अरु ३० दिनसम्म वा त्योभन्दा बढी पनि लम्ब्याउन सकिने उनको भनाइ छ ।

कोरोना भाइरसका कारण जागीर गुमाएका अमेरिकी नागरिकको रोजगारी सुनिश्चित गर्न यस्तो व्यवस्था गर्नुपरेको उनले बताए ।
यसैगरी राष्ट्रपति ट्रम्पले अमरिकाका करिब ४० प्रतिशत जनसंख्याको प्रतिनिधित्व गर्ने २० राज्य लकडाउन खोलेर अर्थव्यवस्थालाई फेरि चलायमान बनाउने खोजिमा जुटेको बताए ।

ह्वाइटहाउसमा नियमित पत्रकार सम्मेलनमा उनले मुलुक काममा फर्कन चाहन्छ । अमेरिकामा अहिलेसम्म ४५ हजारको मृत्यु भइसकेको छ भने ८ लाख २० हजार संक्रमित भएका छन् ।

ट्रम्पले चीनसँग व्यापार युद्ध चलिरहेकै बेला कोरोना भाइरस फैलिएको भन्दै चीनप्रति आफूले जस्तो कडा व्यवहार कसैले नगरेको जिकीर पनि गरे । व्यापार युद्धकै समयमा यो अदृश्य दुश्मन आइलागेको र यो कहाँबाट आयो भन्ने प्रष्ट छ, यसबारे पछि कुरा गरौला उनले भने ।

ट्रम्पले सीनेटबाट पारित गरिएको ४८० अबर डलरको राहत प्याकेजका कारण संघर्षरत कामदारले राहत पाउने भन्दै सीनेटलाई धन्यवाद पनि दिए । मुलुक विस्तारै लयमा फर्कन थालेको भन्दै उनले चाँडै नै देशले प्रगति गर्ने आश्वासन दिए ।