विवादपछि अभिनेत्री साम्राज्ञीको फिल्म छायाँकन हुँदै

649
views

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले कोरोना महामारीपछि ठूलो बजेटको फिल्ममा हस्ताक्षर गरेकी छन् । उनले अनाम चलचित्रका लागि हस्ताक्षर गरेकी हुन् । अभिनेता भुवन केसीसँगको विवादपछिको रोचक पक्ष के छ भने भुवनका छोरा अनमोल केसीसँग फिल्म ‘जेरी’मा स्क्रिन सेयर गरेकी आना शर्माले साम्राज्ञीसँगै अभिनय गर्ने गरी यो फिल्ममा हस्ताक्षर गरेकी हुन् ।

साम्राज्ञी र भुवनको विवादपछि भुवनले मानहानीको क्षतिपूर्तिस्वरूप साम्राज्ञीसँग १० करोड माग गर्दै अदालतमा मुद्दा दायर गरेका छन् । सिबर्डस् पिक्चर र सौर्य इन्टरटेनमेन्टको ब्यानरमा बन्ने यस फिल्ममा साम्राज्ञीसँगै आना शर्मा र मनीष राउतको पनि मुख्य अभिनय रहनेछ । मनीष राउत ‘प्रेमगीत ३’ बाट नेपाली चलचित्रमा डेब्यु गरेका हुन् । यो फिल्म रिलिजको संघारमा छ।

डाक्टर डेनिमको प्रस्तुतिमा बन्ने यो फिल्मको नाम जुर्न बाँकी नै रहेको निर्माण टिमले बताएको छ। फिल्मको निर्माता छत्रजंग पाण्डे र अनुप पौडेल तथा सहनिर्माता करन साउद रहेका छन् । पारिश्रमिकको बारेमा भने निर्माण पक्ष तथा कुनै कलाकारले पनि सार्वजनिक गरेका छैनन्।

‘अमेरिका ब्वाइज’ फिल्म निर्देशन गरिसकेका निर्देशक प्रवेश पौडेलले यो फिल्म निर्देशन गर्नेछन्। पौडेलले ओस्कार इन्टरनेसनल कलेजबाट निर्देशन विषयमा अध्ययन गरेका छन्। स्क्रिप्टको काम भइरहेकाले फिल्मको नाम फाइनल नगरिएको उनले जानकारी दिए। युवा मनोविज्ञानमा आधारित भएर निर्माण गर्न लागिएको बताइएको छ।  निर्देशक पौडेलका अनुसार निर्माण टिमले कमिङ एजको विषयमा दुई वर्षदेखि काम गरिरहेका थिए। सोही कार्यलाई मूर्तरूप दिन फिल्म निर्माण घोषणा गरिएको हो।

कोरोना संक्रमणको डरले घरभित्रै बसेका कलाकारहरू बाहिर निस्कन थालेका छन्। पल शाह, आँचल शर्मा, केकी अधिकारी, स्वस्तिमा खड्का, पूजा शर्मा, विपिन कार्कीलगायतका कलाकारहरू म्युजिक भिडियोमा अभिनय सुरु गरिसकेका छन्। अनमोल केसी पनि व्यापारिक विज्ञापनमा अभिनय गर्न घर बाहिर निस्किसकेका छन्। धेरैजसो कलाकारहरू केही न केही माध्यमबाट दर्शक श्रोताको सम्पर्कमा जोडिएका छन्।

मनोरञ्जन क्षेत्र बिस्तारै चल्मलाउन थालेको जस्तो देखिए पनि उपत्यकामा आगामी आइतबारदेखि दुई साताको लागि ‘सटडाउन’ गर्ने घोषणा गरिएपछि पुनः गतिविधि थप्प हुने अवस्था देखिएको छ।

यसैबीच अभिनेता अनमोल केसीले कोरोना परीक्षण गराएका छन्। केही दिन पहिले स्कुटरको विज्ञापन छायांकन गरेका अनमोल संक्रमितको ट्रेसिङमा परेपछि ‘कोभिड— १९’ को परीक्षण गराएका हुन्। सो विज्ञापनको युनिटमा रहेका एक सदस्यलाई कोभिड— १९ पोजेटिभ देखिएको थियो। त्यसपछि उक्त युनिटकै परीक्षण गर्ने क्रममा अनमोलको पनि परीक्षण गरिएको हो।

दुई दिनअगाडि परीक्षण गराएका अनमोल हाल घरमै सामाजिक दूरी बनाएर बसेका छन्। उनले रिपोर्टबारे केही खुलाएका छैनन्। लकडाउन अवधिभर घरमै रहेका अनमोलले लकडाउन खुकुलो भएपछि केही विज्ञापनमा काम गरेका थिए।