ओली प्रचण्डबीचको भेटवार्ता फेरि स्थगित

795
views

काठमाडौँ ।  अध्यक्ष द्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डुबीचको भेटवार्ता फेरि रोकिएको छ।

साउन १४ गते बोलाइएको स्थायी कमिटी बैठक केपी शर्मा ओलीले एकपक्षीय निर्णयबाट स्थगित गरिदिएपछि चिसिएको दुई नेताबीच पार्टी वरिष्ठ नेता झलनाथ खनालले भेटघाट गराइदिएपनि फेरि सम्वादहीनता देखिएको हो।

प्रधानमन्त्री समेत रहेका ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दुई अध्यक्षबीच तत्काललाई भेटवार्ताको मिति या समय तय भएको छैन। थापाले भने, ‘प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच बुधबारको वार्ता स्थगित भएपछि अहिलेसम्म भेटवार्ताका लागि कुनै समय तोकिएको छैन।’ ओली र दाहालबीच गत आइतबारदेखि मंगलबारसम्म निरन्तर छलफल भएको थियो। तर, सहमति जुट्न सकेको थिएन।

वार्तामा प्रधानमन्त्री ओलीका तर्फबाट संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ र दाहालसँगै वरिष्ठ नेता झलनाथ खनालसमेत सहभागी थिए। आइतबारको बैठकमा दुवै अध्यक्षले आ(आफ्नै अडानमा यथावत् रहेपनि बैठक पुनः सुरुवात भएको बताएका थिए। सोमबार केही समयमात्रै छलफल भएपनि कुनै सहमति जुट्न सकेको थिए। तर, मंगलबारको वार्तामा कुरा अन्यन्त्रै मोडिएको थियो।

प्रधानमन्त्री ओलीले पार्टीभित्र सल्लाहबिना एकलौटी रुपमा लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा विवादित पृष्ठभूमिका सुशील भट्टलाई नियुक्त गरेपछि बैठकको सुरुमै दुई जनाबीच चर्काचर्की परेका थियो।

वार्तामा सहभागी भएका अध्यक्ष दाहालसहित वरिष्ठ नेता माधवकुमार नेपालले पनि चर्को विरोध गरेपछि बैठक रस्साकस्सीपूर्ण बनेको थियो। पछिल्लो विवादसँगै प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले आफ्नो अडान कायमै राखेका थिए। सहमति नहुने संकेत देखिएपछि वार्ता टुङ्गिएको थियो।