कालिज फार्ममा पसेको चितुवा समातियो

778
views

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगास्थित हरियाली ग्रुपको कालिज फार्मभित्र पसेको चितुवालाई नियन्त्रणमा लिइएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता केन्द्र चितवनबाट आएको डार्टिङ टोलीले शुक्रबार राति चितुवालाई जिवितै नियन्त्रणमा लिएको हो ।

डार्टगनको सहायताले लठ्याउने सुई लगाएर चितुवालाई नियन्त्रणमा लिएर खोरबाट बाहिर निकालिएको डिभिजन वन कार्यालय म्याग्दीका निमित्त प्रमुख सन्तोष खनालले जानकारी दिनुभयो ।

जैविक विविधता संरक्षण केन्द्रका पशु चिकित्सक अमिर सडौला, भेटनरी प्राविधिक किरणराज रिजाल, वन्यजन्तु प्राविधिक दिप्रसाद चौधरी र जुनियर वन्यजन्तु प्राविधिक सुरेन्द्र चौधरीको टोली चितवनबाट आएको थियो ।

दुई–तीन वर्षको उक्त पोथी चितुवा १८४ सेन्टिमिटर लम्बाइ, ५२ सेन्टिमिटर उचाइ र ३५ केजी तौल भएको उद्धार टोलीले जनाएको छ । चितुवा पसेको फार्मभित्र ६५ दिनका ४५० वटा कालिजका चल्ला थिए ।

फार्मभित्र पसेको चितुवाले ठूलो क्षति पु¥याएको हरियाली ग्रुप प्रालिका महाप्रबन्धक शेरबहादुर केसीले बताउनुभयो ।