अबैध रुपमा सञ्चालित उद्योग जलजला गाउँपालिकाद्वारा बन्द

1139
views

महेन्द्र जिसी
पर्वत, ५, आसोज । पर्वतको जलजला गाउँपालिका वडा नम्बर ७ मिलनचोकमा अबैध रुपमा सञ्चालनमा रहेको क्रसर उद्योगमा जलजला गाउँपालिकाले सुचना टाँस गरी बन्द गराएको छ ।

बागेश्वरी एग्रिगेट एण्ड ब्लक उद्योगको नाममा सञ्चालनमा रहेको क्रसर उद्योगलाई जलजला गाउँपालिकाको कार्यपालिका बैठकले बन्द गराउने निर्णय गरी सुचना टाँस गरेर बन्द गराएको हो ।

जलजला–७ का बागविर घर्ती क्षेत्री र शिवबहादुर घर्ती क्षेत्रीले बागेश्वरी एग्रीगेट एण्ड ब्लक उद्योगको नाममा उक्त क्रसर चलाउदै आएका थिए ।

अबैध रुपमा ब्लक उद्योगको नाममा क्रसर चलाएको र उक्त क्रसरले मापदण्ड बिपरित कालीगण्डकी नदी दोहन गर्दै आएको भन्दै स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न सरोकारवाला निकायमा उजुरी गरेपछि उद्योग बन्द गराइएको हो ।

जलजलागाउँपालिका वडा नं ७ का अध्यक्ष टुङ्गनाथ शर्माले स्थानीय सरकार सञ्चालन एैनले स्थानीय तहमा उद्योग दर्ता खारेजी र र नविकरणको अधिकार प्रत्यायोजन गरेका कारण गाउँ कार्य पालिकाको निर्णय अनुसार बन्द गराइएको बताए ।

स्थानीयको उजुरीपछि अख्तियारले जलजला गाउँपालिकामा यथार्थ बुझेर खुलाई पठाइदिन अनुरोध गरेपछि गाउँपालिकाले स्थलगत रुपमा अनुगमन गर्नका लागि अनुगमन समिति गठन गरेको थियो ।

समितिको प्रतिवेदनका आधारमा गाउँकार्यपालिकाको बैठकले त्यस ब्यावसायलाई कानुनी प्रक्रिया पु¥याई सञ्चालन गर्न गाउँपालिकाले पटक–पटक ताकेता गर्दा पनि कुनै कागजात पेश नगरेको र क्रसर उद्योग सञ्चालन सम्बन्धी प्रचलित कानुनी ब्यवस्था र गाउँपालिकाले दिएको निर्देशनको बारम्बार अवज्ञा गरेको गाउँपालिकाले जनाएको छ ।

यता उद्योग सञ्चालक शिव बहादुर घर्ती क्षेत्रीले भने प्रशासनको आडमा आफनो कम्पनीमा हस्तक्षेप गर्नु निन्दनीय भएको बताएका छन ।

गाउँपालिकाले यसअघि ०७६ बैशाख ९ मा उद्योग बन्द गर्न निर्देशन दिएको थियो । तर पालिकाको सम्पूर्ण निर्देशन अटेर गरेपनि गाउँपालिकाले ब्यापारिक फर्मको दर्ता, अनुमति, नविकरण, खारेजी, अनुगमन र नियमन कार्यविधि २०७५ को दफा १० को उपदफा ४ बमोजिम आठौ गाउँसभाले बागेश्वरी एग्रीगेट एण्ड ब्लक उद्योगलाई खारेज गर्ने र गाउँपालिकाबाट उपलब्ध हुने सेवा सुविधा बन्द गर्ने निर्णय गरेको थियो ।

बल्क उद्योगमा दर्ता भएर सञ्चालन हुँदै आएको क्रसर स्थानीय प्रशासनको सहयोगमा गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा २ को ञ (६) को अधिकार प्रयोग गरी आइतबार उद्योगमै पुगेर बन्द गराएको जलजला गाउँपालिकाले जनाएको छ ।