सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश (पूर्णपाठ)

396
views

काठमाडौँ । (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएका छन्।

संवैधानिक परिषद्को बैठकमा सभामुख अग्निप्रसाद सापकोटा नगएर कोरम नपुगेपछि ओलीले हतार हतारमा अध्यादेश ल्याएका हुन्।

ओलीले मंगलबारको मन्त्रिपरिषद् बैठकमार्फत अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै जारी गरिसकेकी छन्। अध्यादेश जारी भएपछि अध्यक्ष र अन्य तीनजना सदस्यको उपस्थितिमा संवैधानिक परिषद् बैठक बसेर निर्णय लिन सक्नेछ।

नेपालको संविधान धारा ११४ को उपधारा (१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी भएको हो।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनको दफा ६ को उपदफा ३ लाई संशोधन गर्ने गरी अध्यादेश सिफारिस गरेको थियो। जसलाई राष्ट्रपतिको कार्यालयले तत्कालै जारी गरेको हो।

संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ। त्यसैगरी प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ। यस्तोमा बैठक गणपूरक संख्या पुग्‍न पाँचजना चाहिन्छ।

तर अहिले उपसभामुख पद खाली छ। यस्तोमा यो अध्यादेश आएसँगै अब प्रधानमन्त्रीले बैठक बहिष्कार गरिरहेका सभामुख सापकोटाको उपस्थितिबिना नै निर्णय गर्ने गरी अध्यादेश ल्याएका हुन्।

यो अध्यादेशपछि अब संवैधानिक परिषद्का बहुमत सदस्य उपस्थित भएमा बैठक बस्‍न सक्छ। यसभन्दा पहिले अध्यक्ष र चारजना सदस्य उपस्थित भए मात्रै गणपूरक संख्या पुगेर बैठक बस्थ्यो। अब बहुमत सदस्यको उपस्थितिमा बैठक बसेर निर्णय लिन सक्ने भएको छ।