पर्वत, २, पुष । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङका पहिरो पीडित दुई परिवार प्रवासमा उठेको रकम हस्तान्तरणि गरिएको छ । पीडितलाई नयाँ घर निर्माणका लागि प्रवासी पर्वतेलीहरुको संस्था अन्तराष्ट्रिय पर्वत समाजको समन्वयमा पर्वत समाज बेल्जियम र पर्वत वेलफेयर सोसाईटी यूके मार्फत प्राप्त दोस्रो किस्ताको रकम हस्तान्तरण गरिएको हो ।
पहिलो किस्ता डेढ/डेढ लाख पाएका पीडित अम्मर थापा र विकास विकलाई दोस्रो किस्तामा पनि एक/एक लाख रुपैयाँ वितरण गरिएको हो । पर्वतको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले पीडित परिवारका सदस्य अम्मर र विकासलाई हस्तान्तरण उक्त रकम दिएका हुन् ।
अन्तराष्ट्रिय पर्वत समाजका उपाध्यक्ष पर्शुराम पौडेल र अन्तराष्ट्रिय पर्वत समाजका प्रमुख संरक्षक हितकाजी गुरुङले पहिरो पीडितलाई आवास दिलाउने प्रतिबद्धता जनाए अनुसार पर्वत समाज बेल्जियम र पर्वत वेलफेयर सोसाईटी यूकेको सहकार्यमा पीडितको घर निर्माण भैरहेको छ ।
घर निर्माणको काममा संस्थाले गरेको सहयोगले पीडितलाई राहात पुग्ने विश्वासका साथ घर निर्माणको काम थालिएको प्रमुख संरक्षक हितकाजी गुरुङले बताए ।
पर्वत वेलफेयर सोसाईटी यूकेका अध्यक्ष नेत्र आलेले दुखमा दुख र सुखमा सुख बाँड्ने नेपालीहरुको बानी रहेको भन्दै पर्वतको दुर्लुङमा पहिरो पीडितले घर पाउँदा आफुहरु निकै खुशी भएको बताए ।
गएको जेठ ३१ गतेको पहिरोमा पुरिएर ९ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा अम्मर थापाका बुवाआमा र छोराछोरी तथा बैनी र उनका दुई छोराछोरी र विकास विकका श्रीमती र दुई छोरीछोरीले पहिरोमा पुरिएर ज्यान गुमाएका थिए ।