पर्वत, १३, माघ । पर्वत जेसीजको आयोजनामा अर्मादी आधारभुत विद्यालय कुश्मा–४, अर्मादीमा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । पर्वत जेसीजले यसबर्ष विविध कार्यक्रम सञ्चालन गर्ने वार्षिक कार्ययोजना अन्तर्गत नेपाल जेसीजले अवलम्बन गरेको दिगो विकास लक्ष्य अन्तर्गत गुणस्तरिय शिक्षा) मा आधारित रहि यहि माघ १३ गते कुश्मा नगरपालिकाको वडा नं.४ स्थित अर्मादी आधारभुत विद्यालयमा अध्ययनरत विधार्थीहरूलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।
कुश्मा नगरपालिका–४ का वडा अध्यक्ष मिना कर्माचार्यको प्रमुख आतिथ्यता तथा पर्वत जेसीजका पुर्व अध्यक्ष एबं शैक्षिक ब्यक्तित्व वसन्तकुमार कर्माचार्यको विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै कर्माचार्यले दिगोपनका लागि सबैले हातेमालो गर्नुपर्ने आवश्यकता रहेको औंल्याउनुभयो । उहाँले यस्ता कार्यक्रमहरुलाई राज्यका कार्यक्रमसँग जोड्न सकेमा अझै प्रभावकारी बन्ने बताउनुभयो ।
विशिष्ट अतिथि वसन्तकुमार कर्माचार्यले विद्यालयमा अनुशासन तथा मर्यादाका लागि अभिभावकको समेत मुख्य भुमिका रहने कुरालाई औल्याउदै विद्यालय पोशाकले त्यो अनुशासनमा वाध्ने कुरामा जोड दिनुभयो ।
विगतका दिनमा पनि पर्वत जेसीजले विद्यार्थिका लागि दिवा खाजा कार्यक्रम सम्पन्न गरिसकेको र हाल राज्यवाट नै खाजाको व्यवस्था भएको तर यस्ता विपन्न परिवारका विद्यार्थिलाइ उत्सुकता दिलाउन शैक्षिक सामाग्रि हस्तान्तरणले निकै टेवा पुर्याउनसक्ने र विद्यालय जाने वातावरण सिर्जना हुने कुरा मनन गर्दै यस्ता कार्यक्रमको आयोजना गरिएको कार्यक्रममा अध्यक्ष सुमन श्रेष्ठले जनाउनुभएको थियो ।
पर्वत जेसीजका अध्यक्ष सुमन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्वत जेसीजका पुर्व अध्यक्ष एवम् अध्यक्षिय क्लबका अध्यक्ष प्रेमकुमार गुरुङ्ग (अशोक), विधालय ब्यवस्थापन समितिका अध्यक्ष हेमनाथ आचार्य, प्रधानाध्यापक जगदिशराज शर्मा लगायतले सामाग्री हस्तान्तरण कार्यले सकरात्मक सन्देश दिने बताउनुभयो ।
कार्यक्रम संयोजक सुरेन्द्र पौडेलको स्वागत, निर्देशक विद्या आचार्यको आस्था पाठ, महासचिव उषा चापागाईको सञ्चालनमा सम्पन्न सो कार्यक्रमका लागि जेसीज सदस्यहरूले आफ्नो खर्च कटौती गरि झोला, कापी, कलम लगायतका सामाग्री सहयोग गरिएको थियो । केही कापी धौलागिरी कापी तथा मसलन्द उद्योग कुश्माले उपलब्ध गराएको थियो ।











