आग्रह र पूर्वाग्रहमा आफू चल्ने छैनः प्रमुख आयुक्त राई

523
views

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आग्रह र पूर्वाग्रहमा आफू नचल्ने बताउँदै अख्तियारी दुरुपयोग गर्ने जो सुकैलाई पनि तथ्य प्रमाणको आधारमा कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् । शनिबार बिहान टंगालस्थित आयोगको मुख्यालयमा आयोजित कार्यक्रममा बोल्द उनले यस्तो बताएका हुन् ।

मुलुकमा भ्रष्टाचारको ग्राफ बढ्दो रहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले आम नागरिकले अनुभव गर्न सक्ने गरी काम गर्नु आफ्नो चुनौती रहेको बताए । आफ्नो कार्यकालमा संविधान, भ्रष्टाचार निवारण ऐन तथा अख्तियारको कार्यक्षेत्र भित्र रहेर पारदर्शी ढङ्गले भ्रष्टाचार नियन्त्रणको काममा लाग्ने उनको भनाइ छ ।

‘आम नागरिक मिडिया, सोसल मिडियालगायत सबैले बढ्दो भ्रष्टाचारको विषयमा चिन्ता व्यक्त गरिरहेका छन्’, उनले भने, ‘यहाँहरुको अपेक्षा अनुसार सबैले महसुस गर्ने गरी नियन्त्रण तथा कारबाहीको काम गर्न पछि हट्ने छैन ।’

फरक प्रसङ्गमा प्रतिशोध तथा पूर्वाग्रहका आधारमा निर्दोषलाई फसाउने काम हुँदै नहुने भन्दै प्रमुख आयुक्त राईले आफ्नो कार्यकालमा आयोग इतिहासमै प्रभावकारी काम गरेर बिदा हुने बताए।

आयोगलाई अझ प्रभावकारी रुपमा भ्रष्टाचारविरुद्ध निगरानी गर्ने निकायको रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको समेत सुनाएका छन् । भ्रष्टाचार नियन्त्रण तथा अनुसन्धानमा आम नागरिकको समेत सहयोग खाँचो रहेको औँल्याउँदै उनले सबैको साथको अपेक्षा रहेको सुनाए ।

राईलाई बधाई दिन पुगेका काठमाडौं महानगरपालिका २९ का स्थानीय, स्थानीय संस्थाका प्रतिनिधि, समाजसेवी तथा बुद्धिजीवीसँग यस्तो बताएका हुन् ।

२९ वडाका अध्यक्ष कुश ढकाल, घट्टेकुलो विकास समाजका अध्यक्ष शिवराम राजवंशी, सामाजिक विकास समाजका कार्यवाहक अध्यक्ष ओमप्रसाद उप्रेती, घट्टेकुलो नमुना नगर टोल सुधार समितिका अध्यक्ष ईन्द्रसुर राई तथा, घट्टेकुलो नमुना नगर टोल सुधार समितिका कार्यक्रम संयोजक मोहन कुमार डाँगीले राईलाई प्रमाणपत्र हस्तान्तरण गरे ।