काठमाडौं, १३, असार । कोराना संक्रमण बढेपछि रोकिएको ‘राष्ट्रिय जनगणना २०७८’का गतिविधि पुनः शुरु गर्ने निर्णय गर्न आज आइतवार राष्ट्रिय जनगणना निर्देशक समितिको बैठक बस्ने भएको छ । गत वैशाख १९ गतेको मन्त्रिपरिषद् बैठकले बढ्दो कारोना संक्रमणका कारण असहज परिस्थिती निर्माण भएको भन्दै जनगणनाका सम्पूर्ण गतिविधि स्थगन गर्ने निर्णय गरेको थियो ।
पछिल्ला दिनमा कोरोना सङ्क्रमण दर केही नियन्त्रणमा आएसँगै जनगणनाका बाँकी कामलाई निरन्तरता दिने उद्देश्यले तथ्याङ्क विभागले जनगणना निर्देशक समितिको बैठक बोलाएको होे । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष अध्यक्ष रहने तथा विभिन्न मन्त्रालयका सचिव तथा विश्वविद्यालयका जनसंख्या र तथ्याङ्क विभागका प्रमुख सदस्य रहने गरी निर्देशक समिति गठन गरीएको छ ।
केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले साउनको अन्तिम सातादेखि तथ्याङ्क लिन कार्यक्षेत्रमा पठाउनेगरी प्रस्ताव निर्देशक समितिको बैठकमा लैजान लागिएको जानकारी दिए ।
आगामी साउन अन्तिम सातादेखि शुरु गरी असोजको पहिलो सातामा सक्ने गरी कार्यातालिका बनाइएकोे उनको भनाइ छ । निर्देशक समितिले प्रस्ताव स्वीकृत गरेमा सो प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा जानेछ ।
जनगणनाका लागि करिब ९ हजार सुपरीवेक्षकको छनोट गरीसकिएको छ । उनीहरूमध्ये केहीले ६ दिने तालिम लिईसकेका छन् भने केहीले आधा तालिमकै क्रममा निशेधाज्ञाका कारण तालिम पूरा गर्न पाएका छैनन् । उनीहरूलाई नै फेरि १–२ दिनको पुनर्ताजगी तालिम दिने र कार्यक्षेत्रमा खटाउने विभागको तयारी छ । यस्तै ४० हजार गणकको छनोट र नियुक्ति प्रक्रिया पनि अन्तिम चरणमा रहेको छ । केन्द्रीय तथ्याङ्क विभागले हरेक दश वर्षमा गर्ने राष्ट्रिय जनगणना विसं १९६८ देखि सञ्चालन गर्दै आएको छ । यसको बाह्रौँ श्रृङ्खला अहिले सञ्चालन हुँदैछ ।