बिहीबारदेखि दैनिक ६४ आन्तरिक उडान शुरु

501
views

काठमाडौं, १३, असार । निषेधाज्ञासँगै बन्द भएको आन्तरिक हवाई उडान जनस्वास्थ्यको पालना गर्दै बिहीबारदेखि शुरु हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडान हुने गरी हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको हो ।

बिहीबारबाट बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म आन्तरिक हवाई उडान सुरु हुने नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । उडान भर्नेमध्ये बुद्ध एअरले ३१, यती एअरले १५, श्री एअर सात, सौर्य एअर तीन र नेपाल एअर दुई, तारा एअर दुई, समिट एअर दुई र सीता एअर दुई गरी दैनिक ६४ वटा उडान हुने छन् ।

कुल उडान क्षमताको ५० प्रतिशतमा नबढने गरी आन्तरिक हवाई उडान सञ्चालन गर्न प्राधिकरणलाई सरकारले निर्देशन दिएको थियो ।

यसैगरी पाँच वटा हवाई कम्पनीले अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्दै आएपनि सरकारले थप चार वटा हवाई कम्पनीलाई अनुमति दिएको छ । अब नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स, कतार एअरलाइन्स, टर्किस एअरलाइन्स, जजिरा एअरलाइन्स, फ्लाइ दुवई एअरलाइन्स, सलाम एअरलाइन्स, एअरअरविया र एअरइण्डियाले नेपालका लागि अन्तर्राष्ट्रिय उडान गर्ने भएका छन् । दोहा, जापान, दुबई, ओमान, कुवेत लगायतका गन्तव्यमा उडान शुरु भएको हो ।