बाढी पहिरोका कारण धान रोपाँईमा ढिलाइ

816
views

काठमाडौँ, ७, साउन । समयमा नै मनसुन सुरु भएपनि बाढीपहिरोका कारण यसपालिको धान रोपाइँमा ढिलाइ भएको छ । कृषि मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार हालसम्म ७६.४४ प्रतिशत मात्र रोपाइँ भएको छ । गत वर्ष यतिबेला ८१.८५ प्रतिशत धान रोपाइँ भएको थियो ।

कर्णाली प्रदेशमा धान रोपाइँ सकिएको छ । त्यस्तै सुदूरपश्चिममा ९०.७१ प्रतिशत, लुम्बनी प्रदेशमा ८६.९४ प्रतिशत, बागमती प्रदेशमा ७८.३५ प्रतिशत, गण्डकीमा ७२.४० प्रतिशत, प्रदेश २ मा ६८.५४ प्रतिशत र प्रदेश १ मा ६४.४८ प्रतिशत धान रोपाइँ भएको छ ।

नेपालभर १३ लाख ७१ हजार ७०६ हेक्टरमा धान रोपाइँ हुनेमा हालसम्म १० लाख ४८ हजार ५०७.१७ हेक्टरमा मात्र रोपाइँ भएको छ । अघिल्लो वर्ष यतिबेलासम्म ११ लाख १९ हजार ९१.२ प्रतिशतमा रोपाइँ भइसकेको थियो । प्रदेश १ मा सबभन्दा बढी रोपाइँ ७८.१ प्रतिशत रोपाइँ ताप्लेजुङमा भएको छ भने सबभन्दा कम संखुवासभामा ४० प्रतिशत मात्रै भएको छ । त्यस्तै प्रदेश २ का आठ जिल्लामध्ये रौतहट र पर्सामा सबभन्दा बढी ७५ प्रतिशत रोपाइँ भएको छ भने सबैभन्दा कम सिरहामा ६० प्रतिशत रोपाइँ मात्र भएको छ ।

बागमती प्रदेशको भक्तपुर जिल्लामा सबभन्दा बढी ९७ प्रतिशत र सिन्धुपाल्चोकमा सबभन्दा कम ५४ प्रतिशत रोपाइँ भएको छ । गण्डकी प्रदेशमा मनाङ र मुस्ताङमा धान खेती नै हुँदैन । सो प्रदेशमा सबभन्दा बढी बागलुङमा ९३ प्रतिशत र सबैभन्दा कम लमजुङमा ४५ प्रतिशत रोपाइँ भएको छ ।

लुम्बिनी प्रदेशको नवलपरासीमा रोपाइँ सकिएको छ भने रोल्पा, प्युठान, रुपन्देही र बर्दियामा ९५ प्रतिशत रोपाइँ भएको छ । सुदूरपश्चिमको कैलाली जिल्लामा सबभन्दा बढी ९८ प्रतिशत र सबैभन्दा कम बैतडीमा ७० प्रतिशत रोपाइँ भएको छ ।