काठमाडौ, १०, भदौ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले खोलेको नेकपा (एकीकृत समाजावादी) पार्टीले निर्वाचन आयोगबाट मान्यता पाएसँगै यो दल संघीय संसदको चौथो ठूलो दल भएको छ ।
यससँगै नेकपा एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) मा संघीय संसदमा २९ जनाभन्दा धेरै सांसद छन् । प्रतिनिधि सभाका २२ र राष्ट्रिय सभाका ७ जनाले बुधबार आयोगमै उपस्थित भएर सनाखत गरेका थिए ।
एमाले विभाजित भए पनि संसदमा ठूलो दल नेकपा एमाले नै भएको छ । एक सय २१ जना प्रतिनिधि सभा सदस्यमध्ये एमालेमा ९९ जना सांसद छन् । राष्ट्रिय सभातर्फ पनि एमालेतर्फ नै धेरै सांसद छन् ।
संसदमा दोस्रो ठूलो दल नेपाली कांग्रेस हो । कांग्रेसमा दुई जना निलम्बितबाहेक ६१ जना सांसद छन् । तेस्रो ठूलो दल भने नेकपा माओवादी केन्द्र हो । माओवादीमा ४८ जना सांसद छन् ।
चौथो ठूलो दल नेकपा (एकीकृत समाजवादी) मा २२ जना सांसद छन् । जनता समाजवादी पार्टी जसपा पाँचौं ठूलो दल बनेको छ । जसपामा ३४ जना प्रतिनिधि सभा सांसद थिए ।
निर्वाचन आयोगबाट हिजै मान्यता पाएको अर्को महन्थ ठाकुरको दल छैंटौ बनेको छ । जसमध्ये १४ जना महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका लागि सनाखत गर्न बुधबार आयोग पुगेका थिए । अब उपेन्द्र यादव नेतृत्वको जसपामा १८ जना सांसद छन् ।
अब संसदमा छैटौं ठूलो दल ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी दल हो । संघीय संसदमा राप्रपा, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका पनि एकेक जना सांसद छन् ।
केन्द्रीय कमिटी वा संसदीय दलमध्ये एकमा २० प्रतिशत भए मात्रै पनि दल विभाजन गर्न मिल्ने गरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशमार्फत् नयाँ दुई दल दर्ता भएका हुन् ।