विवाद टुङ्गो लागेपछि महाधिवेशनमा जुट्यो काँग्रेस

660
views

काठमाडौँ, १३, भदौ । अनसनमा रहेका जिल्ला सभापतिहरुको टुङ्गो लागेपछि नेपाली काँग्रेस १४ औँ महाधिवेशनमा केन्द्रित भएको छ । पार्टीको क्रियाशील सदस्यता विवाद, निर्वाचन निर्देशिकालगायतका विषयमा सहमति भई शनिबारै जिल्ला सभापतिहरुले रिले अनसन तोडेका थिए ।

पार्टी सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेलबीच यस विषयमा सहमति भएपछि चार दिनदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी जिल्ला सभापतिको रिलेअनशन तोडिएको छ  ।

शीर्षनेताबीच सहमतिपछि शनिबार साँझ जिल्ला सभापतिले अनशन तोडेको र पार्टी अब पूर्ण रूपमा महाधिवेशनमा जुट्ने अवस्था बनेको पर्वतका जिल्ला सभापति खिम प्रसाद भुसालले जानकारी दिए ।

जिल्ला सभापतिको अनशन तोडाउन क्रियाशील सदस्यता छानबिन समितिका संयोजक पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, सदस्य डा. मीनेन्द्र रिजाल र रमेश लेखक पार्टी कार्यालय सानेपा पुगेका थिए ।

काँग्रेसले ७७ वटै जिल्लाका क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्ने भएको छ । क्रियाशील सदस्यताको विवाद किनारा लगाउँदै बढीमा दुई÷तीन दिनभित्र सबै जिल्लाको सूची वेबसाइटमा सार्वजनिक गरिने जानकारी काँग्रेसले दिएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विवादको छिनोफानो गर्दै सदस्यताको सूची सार्वजनिक गरिने जानकारी दिए ।

यसक्रममा शनिबार क्रियाशील सदस्यताको विवादको छिनोफानो भएका थप पाँच जिल्लाको सूचीलाई काँग्रेसले वेबसाइटमा अद्यावधिक गरेको छ  । नुवाकोट, चितवन, धादिङ, ललितपुर र अर्घाखाँची जिल्लाका क्रियाशील सदस्यताको सूची सार्वजनिक गरिएको हो । ती जिल्लामा निर्वाचन अधिकृतसमेत खटाइएको छ ।

यसअघि काँग्रेसले भदौ १० गते ३८ जिल्ला र ११ गते थप १० जिल्ला गरी ४८ जिल्लाको सदस्यता सूची सार्वजनिक गरेको थियो । शनिबार पाँच जिल्लाको सूची सार्वजनिक भएपछि अब २४ जिल्लाको क्रियाशील सदस्यताको टुङ्गो लाग्न बाँकी छ ।