काठमाडौं, १२, पुस । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्र आजबाट सुरु हुँदै छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवन कमलादीमा बिहान ११ बजेदेखि बन्दसत्र सुरु हुँदै छ । आइतबार प्रज्ञा भवनमै माओवादीको महाधिवेशनको उदघाटन समारोह सम्पन्न भएको थियो ।
बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदनहरु पेस हुने र ती प्रतिवेदनहरुमा समूहगत छलफल हुने छ । समूहगत छलफलका लागि महाधिवेशन प्रतिनिधिहरुलाई २० भन्दा बढी समूहमा बिभाजन गर्ने तयारी छ ।
माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले पारित गरेको विधानमा १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव छ । एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहने प्रस्तावलाई महाधिवेशनले अनुमोदन गर्नेछ ।