पोखरा, ४, बैशाख । अभिनेता महेश त्रिपाठी अभिनित फिल्म ‘हल्कारा’ अमेरिकाको वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभलमा छनोट भएको छ । अप्रिल २० देखि २४ सम्म टेक्सासमा चल्ने फिल्म फेस्टिभलमा ‘हल्कारा’को वल्र्ड प्रिमियर हुन लागेको हो । ५ दिनसम्म चल्ने फेस्टिभलमा यो फिल्म २३ तारिखका दिन राति ९ बजे फिल्मको स्क्रिनिङ रहेको छ ।
जीवनमा अकस्मात आइपर्ने घटनालाई मानिसले कसरी झेल्दै जान्छ र कसरी आफैँले आफैँलाई चिन्दै जान्छ भन्ने कथा प्रस्तुत गर्ने फिल्ममा महेश त्रिपाठीको मुख्य भूमिका रहेको छ । त्रिपाठी अभिनीत ‘चपली हाइट ३’मा भर्खरै देखिएका महेशले यो फिल्ममा बिनिता थापामगर, उमेश तामाङ, पशुपति राई, स्वः दीपक क्षेत्री, विद्या कार्की आदि कलाकारसँग अभिनय गरेका छन् ।
विक्रम सापकोटाले निर्देशन गरेको फिल्मलाई विक्रमसँगै विप्लप प्रतीक र आकाश बरालले लेखेका हुन् । चिन्तन राजभण्डारीको छायांकन रहेको फिल्मलाई कालीपार स्टुडियो र आइसफल प्रडक्सन मिलेर निर्माण गरेका हुन् ।
वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल अमेरिकाको तेस्रो पुरानो फिल्म फेस्टिभल मानिन्छ । इन्डिपेन्डेन्ट फिल्मलाई प्लेटफर्म दिने उद्देश्यसहित सञ्चालन भइरहेको फेस्टिभलमा यो पटक विश्वका ३० फिचर फिल्म र ६० बढी लघु फिल्म प्रदर्शन हुँदैछन् । नेपालमा पनि यो फिल् चाँडै रिलिज गर्ने तयारी गरिरहेको निर्माता रामकृष्ण पोखरेलले जानकारी दिएका छन् ।