९,पुष
अमेरिकी अन्तरिक्ष निकाय नासा एउटा अन्तरिक्षयान सूर्यको सर्वाधिक नजिक पठाएर नया कीर्तिमान बनाउने अभियानमा छ ।
नासाको योजनाअनुसार ’पार्कर सोलर प्रोब’ नामक उक्त यान सूर्यको बाह्य मण्डलमा प्रवेश गर्ने छ । त्यस क्रममा उक्त यानले अत्यधिक तापक्रम र विकिरण सामना गर्नुपर्छ ।
त्यो उडानका क्रममा उक्त यान केही दिन सञ्चारसम्पर्कबाट छुट्टिने छ । वैज्ञानिकहरू उक्त यान सकुशल रहे नरहेको पत्ता लगाउन सङ्केतको प्रतीक्षामा हुने छन् । त्यस्तो सङ्केत सम्भवतः यही साता शुक्रवार (डिसेम्बर २७ मा) प्राप्त हुने छ । यो सानो अन्तरिक्षयानले सूर्यले कसरी काम गर्छ भन्ने अझ राम्ररी बुझ्न सघाउने आशा वैज्ञानिकहरूको छ ।
“सयौ वर्षदेखि मानिसहरूले सूर्यबारे अध्ययन गर्दै आएका छन् । तर नपुगेसम्म कुनै ठाउ कस्तो छ भन्ने महसुस गर्न सकिदैन,“ नासाको विज्ञान विभागकी प्रमुख निकोला फक्सले बताएकी छिन् ।
उनका अनुसार सूर्यको निश्चित भाग कस्तो छ भनेर थाहा पाउनका लागि पनि त्यहा त्यस्तो उडान गर्नैपर्ने हुन्छ । सौर्यमण्डलको मध्यभागतिर जाने गरी पार्कर सोलर प्रोब सन् २०१८ मा प्रक्षेपण गरिएको थियो ।
यो प्रोब २१ पटक सूर्यनजिक पुगिसकेको छ । तर क्रिस्मसको अघिल्लो दिन मङ्गलवार अझ निकटको बिन्दु पुगेर यसले पुराना कीर्तिमानहरू भङ्ग गर्ने वैज्ञानिकहरूको आकलन छ ।
निकटतम बिन्दुमा पुग्दा यो प्रोब सूर्यको सतहभन्दा ३८ लाख माइल (६२ लाख किलोमिटर)को दूरीमा हुने छ ।
तर निकोला फक्स त्यसलाई तुलनात्मक दृष्टिकोणबाट हेर्नुपर्ने ठान्छिन् । “हामी सूर्यभन्दा ९.३ करोड माइल टाढा छौ । यदि सूर्य र पृथ्वीलाई एक मिटरको दूरीमा राख्ने हो भने ’पार्कर सोलर प्रोब’ सूर्यभन्दा चार सेन्टिमिटर टाढा हुन्छ । त्यसैले त्यो निकै नजिक हो,“ उनले भनिन् ।
उक्त प्रोबले १,४०० डिग्री सेल्सिअससम्मको तापक्रम र विकिरण झेल्नुपर्छ । त्यस्तो अवस्थामा त्यसभित्र रहेका विद्युतीय उपकरणहरू गल्न सक्छन् । उक्त प्रोबलाई जोगाउन ११.५ सेन्टिमिटर बाक्लो ’कार्बन–कम्पोजिट’बाट निर्मित कवच बनाइएको छ । सूर्यको वाह्य मण्डलमा तीव्र गतिमा प्रवेश गर्ने र निस्किने रणनीतिमा यो यान छ ।
यो प्रोब मानवनिर्मित अन्य यान वा वस्तुभन्दा तीव्र गतिमा उड्छ । यसको गति ४.३ लाख माइल प्रतिघण्टा छ । त्यो वेगमा यात्रा गर्ने हो भने ३० सेकन्डभन्दा कम समयमा लन्डनबाट न्यूयोर्क पुगिन्छ । सूर्यको बाह्य मण्डल ’करोना’मा यो यान उड्दा एउटा पुरानो रहस्यको कारण पत्ता लगाउन सकिने वैज्ञानिकहरूले ठानेका छन् ।
“करोना निकै धेरै तातो छ तर हामीलाई त्यसको कारण थाहा छैन,“ फिथ स्टार ल्याब्समा कार्यरत खगोलविद् डा जेनिफर मिलर्डले भनिन् । “सूर्यको सतह झन्डै ६,००० डिग्री सेल्सिअस छ । तर करोना जुन सूर्यग्रहण लाग्दा देखिने बाह्य मण्डल हो त्यसको तापक्रम लाखौँ डिग्री पुग्छ । त्यो सूर्यको सतहबाट निकै टाढा छ । वाह्य मण्डल कसरी निकै तातो बन्छ ?“ यो अभियानले वैज्ञानिकहरूलाई सौर्य आँधीबारे पनि थप कुरा बुझ्न सघाउने ठानिएको छ । सौर्य आँधीमा करोनाबाट निरन्तर निस्किने आयनीकृत कणहरू हुन्छन् ।
ती कणहरूले पृथ्वीको चुम्बकीय क्षेत्रसँग अन्तरक्रिया गर्दा आकाशमा रङ्गीन प्रकाशयुक्त ’ओरोरा’ बन्छ । ’अन्तरिक्ष मौसम’ पनि भनिने यो प्रक्रियाका कारण कहिलेकाही समस्या पनि उत्पन्न हुन सक्छ। ऊर्जा आपूर्ति गर्न निर्मित ग्रिडहरू, विद्युतीय सामग्रीहरू र सञ्चार प्रणाली त्यसबाट प्रभावित हुन सक्छन् । “सूर्य, त्यसका गतिविधि, अन्तरिक्ष मौसम, सौर्य आँधीबारे बुझ्नु पृथ्वीमा हाम्रो दैनिक जीवनका लागि निकै महत्त्वपूर्ण हुन्छ,“ डा मिलर्डले भनिन् ।
नासाका वैज्ञानिकहरू उक्त यान आफ्नो सम्पर्कमा नहुने समयको प्रतीक्षामा छन् ।
उक्त यानले पृथ्वीमा पुनः सङ्केत पठाएपछि आफ्नो टोलीले आफूलाई त्यसबारे सूचित गर्ने बताइन् । उनी यो “दुस्साहसिक प्रयास“कारण आफू व्यग्र भएको स्वीकार गर्छिन् । तर उनी आशावादी छिन् । “मलाई यो यानबारे चिन्ता छ। तर हामीले सबै खालका क्रूर अवस्था सहन सक्ने गरी यसको निर्माण गरेका छौ यो कठोर, सानो तर कठोर अन्तरिक्षयान हो ।“
(एजेन्सी)