म्याग्दी, ११, कार्तिक । मौसममा आएको खराबी र हिमपातका कारण अन्नपूर्ण प्रथम आधार शिविर क्षेत्रमा पुगेका पर्यटकको सहजीकरणका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको अन्नपूर्ण आधार शिविर क्षेत्रमा गएरातिदेखि हिमपात भइरहेको छ ।

अत्यधिक पर्यटक पुगेको र सञ्चारको पहुँच समेत नभएको अवस्थामा पर्यटक बिरामी पर्ने तथा अलपत्र पर्ने जोखिम भएकाले गाउँपालिकासँगको समन्वयमा पर्यटकको सहजीकरण र आवश्यक परे उद्दारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई आधार शिविर जाने ‘मौरिस हर्जोग’ पदमार्गमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार हिमाली उद्धारकर्मीका रुपमा परिचित इन्द्रसिंह शेरचनसमेत सहभागी टोली नारच्याङ भएर हुमखोला हुँदै आधार शिविर क्षेत्रमा प्रस्थान गरेको छ ।
अन्नपूर्ण आधार शिविर क्षेत्रमा सञ्चारको पहुँच नभएका कारण पर्यटक हिमपातका कारण समस्यामा पर्नसक्ने जोखिमलाई ध्यानमा राखेर आवश्यक सतर्कता अपनाइएको हो । आउँदो शुक्रबारसम्म हिमाली क्षेत्रमा हिमपात र वर्षाको सम्भावना रहेकाले अन्नपूर्ण आधार शिविर जान पूर्ण रुपमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।
हिमपात भएको अन्नपूर्ण आधार शिविर, खोप्रालेक, मोहरेडाँडा, पुनहिललगायतका हिमाली क्षेत्रको भ्रमणमा निस्किएका पर्यटकलाई सुरक्षित भएर बस्न र सतर्कता अपनाउन आग्रह समेत गरिएको छ ।










