टर्कीमा जनमत संग्रहको परिणाम

1457
views

काठमाडौं । टर्कीमा राष्ट्रपति शासन लागु गर्ने विषयमा भएको जनमत संग्रहमा रिसेप तैयप एर्दोगानले स्पष्ट बहुमत हासिल गरेका छन् । संसदीय व्यवस्था विस्थापन गरी कार्यकारी राष्ट्रपति प्रणालीका पक्षमा रहेका राष्ट्रपति रिसेप तैयप एर्दोगानले बहुमत पाएसँगै अब त्यहाँ राष्ट्रपतिका लागि २०१९ मा निर्वाचन हुनेछ ।
संविधानमा गरिने संशोधनपछि राष्ट्रपतिको कार्याकाल ५ वर्षको हुनेछ भने २ पटकसम्म राष्ट्रपति बन्न पाइनेछ । सोही अनुसार एर्दोगान सन् २०२९ सम्म राष्ट्रपति बन्न सक्नेछन् । राष्ट्रपति शासनको पक्षमा ५१ दशमलव ३७ तथा विपक्षमा ४८ दशमलव ६३ प्रतिशत मत परेको हो ।
एर्दोगानका समर्थकहरु राष्ट्रपति शासनबाट मुलुकमा आधुनिकीकरण र विकास हुने दावी गरिरहेका छन् भने विरोधीहरु निरंकुशता स्थापित गर्ने बताउँदै आएका छन् ।
विपक्षी दलले भने यस निर्णयलाई चुनौति दिने बताएका छन् । उनीहरुले मतगणना फेरि गर्न माग गरेका छन् । एक शताब्दी अगाडी नै गणतन्त्र बनेको मुलुक टर्कीमा फेरि एर्दोगानले यसको नेतृत्व गर्ने अवसर पाएका हुन् । अब राष्ट्रपतिले मन्त्रीहरु नियुक्त गर्ने, फैसला जारी गर्ने, वरिष्ठ न्यायाधीश चुन्ने र संसद भंग गर्ने अधिकार पाउने छन् । प्रधानमन्त्रीको पद हटाइने छ भने देशको कर्मचारीतन्त्रसहितको सारा शक्ति राष्ट्रपतिको हातमा रहनेछ ।
एर्दोगानले मुलुकमा अब फ्रान्स र अमेरिकासँग मिल्दोजुल्दो प्रणाली लागु हुने र कुर्द विद्रोह, इस्लामिक अतिवाद र सिरियाबाट आउने शरणार्थी व्यवस्थापन जस्ता विषयमा निर्णय लिन सजिलो हुने बताएका छन् । अर्दोगान एक दशकसम्म प्रधानमन्त्री बनेपछि सन् २०१४ मा राष्ट्रपतिमा निर्वा्चित भएका थिए ।