अरुण वाँध घट्यो, तीनघर बगे, पाँचसय घरपरिवार सुरक्षित स्थानमा सारियो

819
views

नवदृष्टि संवाददाता
संखुवासभा, ८, बैशाख । गएराती बरुण नदीमा आएको बाढीले अरुण नदिलाई थुनेर बनेको अढाइ किलोमिटर ताल विस्तार घट्न थालेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ । अरुण र वरुणको दोभानमा बरुण नदिले अरुण नदिलाई थुन्दा भोटखोला गाउँपालिका वडा नं ४ र वडा नं ५ का पाँचसय घरपरिवार प्रभावित बनेका छन् ।
दुई नदि थुनिएर बनेको बाँधले ३ घर भत्किएका छन् भने प्रभावित वडाका पाँचसय घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अर्जुनकुमार पोख्रेलले बताएका छन् । बाँध खुलाउनको लागि नेपाली सेना, शसस्त्र प्रहरी र जनपद प्रहरी परिचालन गरिएको पोख्रेलले बताए । काठमाडौबाट गएको नेपाली सेनाको ठूलो हेलिकप्टर घटनास्थल पुगेको खवर प्राप्त भएको छ । संखुवासभा सदरमुकामदेखी दुईदिन लाग्ने उक्त स्थानमा अरुण नदि र वरुण नदि थुनिएर बनेको बाँधको स्थलगत अवलोकन गर्नका लागि काठमाडौँबाट उद्धार सामाग्री सहित गएको विज्ञहरुको टिम फर्किसकेको पोख्रेलले बताए । दुई नदि थुनिएर बाँध बनेको उक्त स्थानमा ४५ जना जनपद प्रहरी र १५ जना नेपाली सेनाको टिम उद्धार कार्यका लागि खटिएको छ ।

आज दिनभर घाम लागेकोले थुनिएर बनेको बाँध विस्तारै घटन थालेकोले उक्त स्थानमा सम्भावित खतरा टर्दै गएको छ । बरुण नदिमा आएको बाढीले अरुण नदिलाई थुन्दा अरुण र बरुणको किनारका बस्तिहरु जोखिममा परेका थिए । बाँध अवलोकनका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वको २५ सदस्यीय राहात तथा उद्धारको टोली बरुण दोभान पुगेको थियो । काठमाण्डौबाट स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ र खानेपानी राज्यमन्त्री दीपक खड्का, गृहमन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख कृष्णबहादुर राउत, भूगर्भविद्, जल तथा मौसम विज्ञान विभागका प्रतिनिधि, नेपाली सेनाको प्राविधिक टोली, सशस्त्र प्रहरी तथा जल उत्पन्न प्रकोप विभागका प्रतिनिधिलगायतको टोली उक्त स्थानको अध्ययन अवलोकन गरी फर्किसकेको प्रहरी निरीक्षक  अर्जुन कुमार पोख्रोलले जानकारी दिए । घटनास्थलतर्प औषधी र चाउचाउ, विस्कुट लगायतका खाद्य सामाग्री लिएर गएको थियो । लगेको छ । नदी थुनिएको स्थान अत्यन्त खोँच र गहिरो रहेकाले सञ्चार सम्पर्क समेत हुन नसक्ने प्रहरीले जनाएको छ ।