मतपत्र छपाईको काम सकियो

मधेसकेन्द्रित दलबीच नयाँ सहमति भए मतपत्र खेर

1414
views

नवदृष्टि संवाददाता
काठमाण्डौ ९ बैशाख । निर्वाचन आयोगले ७५ वटै जिल्लाका लागि मतपत्र छपाइको काम सम्पन्न गरेको छ । १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाताका लागि १ करोड ५६ लाख मतपत्र छापिएको छ ।’ मतपत्र छपाइको काम सकिएको छ,’ निर्वाचन आयुक्त नरेन्द्र दाहालले भने ’ढुवानीको काम पनि सुरु भइसकेको छ ।’ आयोगले मतपत्र ढुवानी र सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएको समेत जनाएको छ ।‘मतदान हुनुभन्दा अघिसम्म नेपाली सेनाले मतपत्रको सुरक्षा दिन्छ,’ आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले भन्नुभयो, ’मतदानको बेला भने सेना बाहिरै रहन्छ ।’ आयोगले मतपत्र छपाइको सम्पूर्ण काम सेनाको सुरक्षामा जनक शिक्षा सामग्री केन्द्रमा गरेको थियो । आयुक्त नरेन्द्र दाहालले मतपत्र छपाइमा १४ करोड खर्चको प्रारम्भिक अनुमान गर्नुभयो ।
मतपत्र छपाइसँगै नम्बर राख्दै जिल्ला पठाउन सुरु
मतपत्र छपाइसँगै नम्बर राख्दै जिल्ला पठाउन सुरु गरिएको आयोगले जनाएको छ । आयोग स्रोतका अनुसार २० जिल्लामा मतपत्र पठाइसकिएको छ । आयोगले कुल मतदाताभन्दा १० प्रतिशत बढी मतपत्र छापेको हो । कतै च्यातिने, फेरि मतदान गर्नुपर्ने हुन सक्ने सम्भावना राखेर आयोगले १० प्रतिशत बढी मतपत्र छापेको आयुक्त दाहालले जानकारी दिनुभयो ।
आयोगले संसद्मा रहेका दललाई मात्र चुनाव चिह्न दिएर मतपत्र छापेको छ । मधेसकेन्द्रित दलबीच नयाँ सहमति भएर नयाँ चुनाव चिह्न दिनुपर्ने अवस्थामा अहिले छापिएको मतपत्र खेर जान्छ । ’अहिले मतपत्रमा भएकै चुनाव चिह्न मात्र दिन सकिने अवस्था छ,’ आयोगका एक सदस्यले भने, ’फेरि नयाँ नमुना बनाएर मतपत्र छाप्न गाह्रो छ ।’ ६ वटा मधेसकेन्द्रित दल मिलेर राष्ट्रिय जनता पार्टी बने पनि पुरानै दलका चुनाव चिह्न समेटिएर मतपत्र छापिएका छन् । आयोगले सबैभन्दा ठूलो मतपत्र ६८ ’रो’ को बनाएको छ भने सबैभन्दा सानो मनाङको लागि १८ ’रो’ को छापेको छ ।