अप्रिल २२ तारिख पृथ्वी दिवसः वातावरणीय तथा जलवायु शिक्षामा जोड

1599
views

काठमाडौं, ९ वैशाख । सन् २००९ मा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल २२ तारिखलाई पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरेपछि नेपालमा पनि यो दिवस मनाईदै आइएको छ । वातावरणीय र जलवायु शिक्षालाई जोड दिँदै आज शनिबार पृथ्वी दिवस मनाइँदैछ । पृथ्वीको संरक्षण र वातावरण जोगाउन हरेक अप्रिल २२ तारिखमा पृथ्वी दिवस मनाइदै आइएको छ ।
यस वर्षको दिवसको नारा ‘वातावरणीय र जलवायु शिक्षा’ तय गरिएको छ । शिक्षा नै प्रगतिको जग भएको र विश्वका नागरिकलाई जलवायु परिवर्तन र यसले पृथ्वीमा निम्त्याउन सक्ने खतराबारे शिक्षित बनाउनुपर्ने राष्ट्रसंघले विशेष वजोड दिदैं आएको छ ।
वातावरणीय र जलवायु शिक्षा, नीति निर्माणका लागि इन्जिन मात्र नभइ हरित प्रविधि तथा रोजगारी श्रृजनालाई गति दिन पनि आवश्यक रहेको राष्ट्रसंघले जनाएको छ । नेपालमा पछिल्लो समय अव्यवस्थित शहरीकरण, खोलाजन्य वस्तुको उत्खनन, वनविनास तथा वातावरणमैत्री दीगो विकास निर्माणका काम नहुँदा वातावरणमा ह्रास आएको छ । पछिल्लो समयमा राजधानी लगायत देशका विभिन्न स्थानहरुमा भइरहेको सडक विस्तारसँगै मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छाउन सडक खनिदाँ वायु प्रदूषण उच्च भएको छ । वायु प्रदूषणकै कारण श्वासप्रश्वा ससम्बन्धी रोगका बिरामी बढेको र यसले झन खतरा निम्त्याउँदै गएको डाक्टरहरुले बताएका छन् ।