अमेरिकी सिनेटरको नजरमा योग्य ‘प्रचण्ड’को प्रशंसा

745
views

काठमाडौं, ९, वैशाख । कुनैबेला प्रचण्डलाई आतंककारीको सुचिमा राख्ने देशका सिनेटरहरु अहिले उनै प्रचण्डको प्रशंशा गरेका छन् । अमेरिकी सिनेटरहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उच्च प्रशंसा गरेका हुन् । अमेरिकी सिनेटरहरु क्रिस्टोफर कुन्स र जेफ मक्र्लीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर प्रचण्डकै राजनीतिक देनका कारण महिला राजनीति विश्वकै नमुनायोग्य’ बनाएको भन्दै प्रशंसा गरेका हुन् । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्ड र सिनेटरहरुबीच नेपालमा सञ्चालित विकास आयोजना, तिनीहरुको मौलिकता र प्रभावकारिताका विषयमा लामो कुराकानी भएको थियो । भेटमा सिनेटरहरुले नेपालको आर्थिक बृद्धिदर उत्साहवद्र्धक रहेको बताउँदै वर्तमान सरकारको विकास र समृद्धिको सोंच सकारात्मक रहेको उल्लेख गरे ।
सिनेटरहरुले नेपालमा महिलाहरुको राजनीति र सामाजिक क्षेत्रमा देखिएको जागरण विश्वकै निम्ति नमूनायोग्य रहेको बताउँदै त्यसका लागि प्रधानमन्त्री प्रचण्डको विशेष देन रहेको समेत उल्लेख गरे । नेपालको आर्थिक विकासमा अमेरिका सधैं सकारात्मक र सहयोगी रहने बताउँदै सिनेटरहरुले नेपाल सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन तोकिएकै समयमा सम्पन्न होस् भन्ने अमेरिकाको सदीक्षा रहेको जानकारी दिए ।
भेटमा प्रचण्डले नेपालको विकास आयोजनाहरुमा अमेरिकाले गरेको सहयोगका लागि धन्यवाद दिए । नेपाल राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै विकास र समृद्धिको यात्रामा अगाडि बढिरहेको जानकारी दिँदै प्रचण्डले आफ्नो नेतृत्वको सरकारले हासिल गरेको आर्थिक बृद्धिदर त्यसको संकेत भएको बताए । प्रचण्डले नेपाल संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचनमा होमिएको जानकारी दिँदै स्थानीय सरकारको गठनपछि विकास आयोजना र समृद्धिको सपनाले अझ तिब्रता पाउने बताए । तोकिएकै समयमा स्थानीय तहको निर्वाचनलाई उत्सवका रुपमा सम्पन्न गरिने जानकारी दिँदै निर्वाचनमा अन्तराष्ट्रिय समुदायको सहयोग र सद्भाव रहने विश्वास व्यक्त गरे ।