यसरी उद्धार गरे प्रचण्डले मलेसियामा बिचल्ली १८ नेपालीलाई

1390
views

काठमाडौँ, ९ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन र परराष्ट्र मन्त्रालयको पहलमा मलेसियाको बुकिट जलिल क्याम्पमा कष्टकर जीवन बिताइरहेका १८ नेपालीको उद्धार गरिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार विदेशमा रहेका नेपालीका समस्यालाई उच्च प्राथमिकता दिएर शुक्रबार ती नेपालीको उद्धार गरेको हो । विभिन्न मितिमा मलेसियामा पुगेका उनीहरुलाई व्यक्ति हत्या लगायतका अभियोगमा पक्राउ गरी बुकिट जलिल क्याम्पमा राखिएको थियो । त्यसको जानकारी पाएलगत्तै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारका सम्बद्ध अधिकारीलाई बोलाएर उनीहरुको स्थिति बुझ्न र छिट्टै उद्धार गर्न निर्देशन दिनुभएको थियो । प्रधानमन्त्रीको निर्देशनपछि परराष्ट्र मन्त्रालयले उद्धारका लागि पहल गरेको थियो । अलपत्र नेपालीको उद्धारका लागि सरकार आफैँले हवाई टिकटको व्यवस्था गरेको थियो ।

को को हुन् उद्धार गरिएका नेपाली

उद्धार गरी नेपाल ल्याइएकामा बाँकेका शानबहादुर बुढामगर, खोटाङका ईश्वर विक, रामेछापका लाक्पा छिरी शेर्पा, मकवानपुरका सुब्बासिंह मोक्तान, बाराका सिंहबहादुर मोक्तान, ताप्लेजुङका राजेशकुमार वानेम, दाङका सुमन कुमाल, पाँचथरका फणिन्द्रबहादुर कटुवाल, सल्यानका पुष्कर बुढाथोकी, मकवानपुरका ज्ञानबहादुर मोक्तान, रुपन्देहीका अमरजित कब्रिन, पाल्पाका प्रकाश थापा, ओखलढुङ्गा का सुवास राई, रोल्पाका नरबहादुर घर्ती, मकवानपुरका कुमार भुलुन, रामेछापका कुमार लामा, काठमाडौँका ईश्वरी लामा तामाङ र बाँकेका सञ्जय कुमार नाउ हुनुहुन्छ ।