मानव अधिकार उल्लंघनमा भारतीय प्रहरीहरु

812
views

एजेन्सी, ९ वैसाख । भारतीय सशस्त्र प्रहरीले भारतीय जम्मु कस्मिर राज्यमा हालै २४ बर्षीय फारुक अहमद दरलाई कुटपिट गरी गाडीको अघिल्तिर बाँधेको घटना सार्वजनिक भएको छ ।
प्रहरी जवानले आफूतिर ढुंगा हानीरहेको भीडका विरुद्ध ती युवकलाई मानव ढालको रुपमा प्रयोग गरेको घटनाबाट जम्मु र कस्मिरको संदिग्ध मानव अधिकार उल्लंघनको लामो इतिहासमा प्रहरी जवान यति गिर्दा रहेछन् भन्ने देखाएको छ । प्रहरीको जीप गाउँबाट हिंडिसकेपछि ती युवकले भने, ‘मेरो अवस्था देखेर मानिसहरु आँसु चुहाइरहेका थिए ।’
सामाजिक संजालमार्फत् भिडियो सार्वजनिक भएपछि कस्मिर क्षेत्रको यो पछिल्लो घटना बाहिर आएको हो । कहिले चर्किने कहिले सेलाउने हुंदै अघि बढेको तीन दशक लामो कस्मिरको व्रिदोहको आयतनलाई यो घटनाले अवगत गराएको छ । यो क्षेत्रलाई पाकिस्तान आफ्नो भनि दाबी गर्छ र त्यहाँका विद्रोहीलाई सहयोग पनि गर्छ ।
गत जुलाई महिनामा बुर्हान मुजफ्फर वानी नामका २२ बर्षीय कस्मिरी स्वतन्त्रता पक्ष धर युवक भारतीय सुरक्षाकर्मीबाट मारिएपछि त्यस क्षेत्रमा तनाव बढेको हो । प्रदर्शनकारी माथि प्रहरीले गोली बर्साउँदा सैयौँको हताहति भयो, हजारौँ घाइते भए र धेरैजना प्रहरीको गोली लागि अन्धा बन्न पुगे ।
श्रीनगरमा एक सिटका लागि कस्मिरीले गरेको मतदानकै दिन ती युवकमाथि प्रहरीले बर्बरता मच्चायो। त्यहाँका पृथकतावादीले चुनाव बहिष्कार गर्न आग्रह गरेका कारण जम्मा सात प्रतिशत स्थानीय कस्मिरीले मतदान प्रक्रियामा सहभागि भए, जुन २७ बर्ष यताकै न्यून सहभागिता थियो । त्यस दिन व्यापक हिंसाका बीच आठजना मारिए । त्यसपछि अप्रिल १३ का दिनमा नयाँ चुनाव मिति तोकियो तर फेरि पनि २ प्रतिशत मात्रै मतदाता सहभागी भए ।
दर जो आफूलाई पृथकवादी आन्दोलनमा कहिल्यै सहभागी नरहेको बताउँदै गुनासो गर्छन्, ‘मैले मतदानमा सहभागी भएकै कारण यो हालत बेहोर्नु प¥यो । तपाईंलाई लाग्छ कि यसले कस्मिरमा भारतलाई राम्रो हुन्छ ? हुंदैन यसबाट कस्मिरीलाई भारतलाई घृणा गर्ने अर्को कारण बन्न जान्छ ।’
भारतीय सेनाका प्रमुख विपिन रावतले ती युवालाई गाडीमा बाँध्नेहरु माथि कार्वाही गर्ने प्रतिवद्धता जनाएका छन् । तर साथसाथै उनले गर्जनका साथ यो पनि भनेका छन् कि कस्मिरमा प्रहरीमाथि ढुंगा हान्ने र पृथकतावादी अतिवादीमाथि चेतावनी पनि दिएका छन्। रावतले भनेका छन् ‘उनीहरु आज बाच्लान् तर हामीले उनीहरुलाई भोलि छोड्ने छैनौँ। हाम्रो निरन्तरको अपरेशन जारी नै रहनेछ ।’ यस खालको प्रवृत्तिले कस्मिरको भविष्यलाई छियाछिया बनाइदिन्छ । त्यहाँ बर्बरतापूर्ण सैनिक रणनीतिले अतिवादलाई बढावा दिने तथा अझै बढी निराशाको अवस्था उत्पन्न हुन जान्छ ।
यही जनवरी सरोकारवाला नागरिकको एक समूहले प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष एक रिपोर्ट बुुझाएका छन्। स्थानीय कस्मिरीमा सरकारका वाचाप्रति पूर्णरुपमा अविश्वास व्याप्त रहेको र उनीहहरुले भेदभावको अनुभूति गरिरहेको जनाउँदै उक्त समूहले प्रतिवेदनमा मानव अधिकारको अवस्था सुधार्न र कस्मिरको दिगो राजनीतिक समाधान खोज्न सर्वदलीय संवाद गर्न आह्वान गरेको छ ।
भारतीय लोकतन्त्रले आफ्नो विश्वसनीयता गुमाउनु तथा कस्मिरीले आफ्नो सपना कोर्ने मौका खोसिनु अघि मोदी सरकारले उक्त प्रतिवेदन कार्यान्वयन गर्नु उपयुक्त हुनेछ ।