तुलसीपूरमा देजमोको सनसनीपूर्ण कार्यक्रम

देजमो तुलसीपूरमा-नन्दराम रोका

1346
views

तुलसीपुर, १० बैशाख । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको तुलसीपुर उपमहानगरपालिका स्तरीय एरिया भेला शनिवार विजौरीमा सम्पन्न भएको छ । भेलालाई नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य हिरामणि दुःखीले संवोधन गर्नुभएको थियो । सम्वोधनका क्रममा दुःखीले वर्तमान संविधानको खारेजी र संसदीय व्यवस्थाको भण्डाफोर गर्न आफ्नो पार्टीले देजमो मार्फत् चुनावलाई क्रान्तिकारी उपयोग गर्ने बताउनुभयो । उहाँले जनयुद्ध लडेर आएको माओवादी पार्टीको एउटा हिस्सा माओवादी केन्द्र पनि संसदीय व्यवस्थालाई स्वीकार गरेर आएको हुनाले अब काङ्ग्रेस, एमाले, राप्रपा र माओवादी केन्द्रमा वैचारिक र सैद्धान्तिक रुपमा तात्वीक भिन्नता नरहेकोले यी सबै पार्टीले प्रतिगामी राज्यसत्ताको पक्षपोषण गरेका छन् भन्नुभयो । ‘नेतृत्व गलत भयो भने जनताले गरेका ठूलाठूला वलिदानीपूर्ण सङ्घर्ष पनि खेर जाने र त्यसको फाइदा प्रतिगामीहरूले उठाउँछन्’ भन्नु हुँदै अब जनता पनि विचारधारबाट दीक्षित हुनुपर्छ भन्नु भयो ।
भेलालाई संवोधन गर्दै जिल्ला सेक्रेटरी अमर पोखरेलले पार्टीको विचारलाई लिएर सबै नेता कार्यकर्ता जनताको घरघरमा जान आह्वान गर्दै सङ्गठनलाई बलियो र व्यापक बनाउन आग्रह गर्नुभयो । सोही क्रममा देजमो, नेपालका जिल्ला संयोजक यमबहादुर शाहले चुनावका माध्यमबाट आफ्नो पार्टीले क्रान्तिको तयारी गर्ने बताउनुभयो । भेलालाई मधुसुदन वैद्य, मेघराज भण्डारी र देजमो घोराही नगरका संयोजक पद्मप्रसाद अधिकारीले पनि सम्वोधन गर्नुभएको थियो ।
देजमो, नेपाल दाङका सचिव तथा तुलसीपुर उपमहानगर कमिटीका पार्टी सेक्रेटरी ईश्वरीप्रसाद गैरेको अध्यक्षतामा सम्पन्न भएको भेलाको स्वागत मन्तव्य नन्दराम रोकाले गर्नुभएको थियो भने सञ्चालन मनबहादुर ओलीले गर्नुभएको थियो । सो भेलाले ९ जना पछि थप गर्ने गरी देजमो जिल्ला सदस्य नन्दराम रोकाको संयोजकत्वमा ३१ सदस्सीय तुलसीपुर उपमहानगर कमिटी गठन गरेको छ । सदस्यहरूमा हुमकान्त सापकोटा, उदयराज भण्डारी, नारायण परियार, संगम डिसी, चन्द्रबहादुर विक, राधा खत्री, कृष्णा विक, जयमान विक, ढुण्डीराज ओली, भिमा विक, भिमबहादुर रोका, सीता विक, प्रेमकुमारी विक, कलिराम विक, तीर्थराज रोका, श्यामबहादुर घर्ती, आशाराम सुनार, पुनाराम सुनार, पवित्रा सुनार, मनमती सुनार, र कालु नेपाली रहेका छन् । भेलापछि बसेको बैठकले आसन्न निर्वाचनमा मोर्चाको तर्फबाट तुलसीपुर उपमहानगरपालिकामा उमेद्वार उठाउने विषयमा छलफल गरेको थियो । उमेद्वारको टुङ्गो छिटै लगाउने कुरा मोर्चाका जिल्ला सचिव ईश्वरीप्रसाद गैरेले जनाउनु भयो ।