नवदृष्टि संवाददाता
काठमाडौँ, ११ वैशाख । स्थानीय चुनवालाई केन्द्रित गर्दै नेपाली काँग्रेसले सनसनीपूर्ण घोषणापत्र मंगलवार सार्वजनिक गर्ने भएको छ । सबैसँगको बृहत् छलफल र सबै पक्षसँगको सुझाव सङ्कलनपछि मंगलवार पार्टीको घोषणापत्र सार्वजनिक गर्नेभएको हो गर्दैछ । पार्टी केन्द्रीय कार्यालयमा सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख १२ गते अपराह्न ३ बजे विशेष कार्यक्रममा स्थानीय तह निर्वाचन २०७४का लागि काँग्रेसको घोषणापत्र सार्वजनिक गर्नुहुने सो पार्टीले जनाएको छ ।
घोषणापत्रमा ‘नमुना स्थानीय सरकार’ विकास गर्ने विषयलाई प्राथमिकतामा राखेको छ । संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएकाले सोहीअनुसार स्थानीय संरचना र नेतृत्वलाई सशक्तीकरण गर्ने मुद्दालाई काँग्रेसले प्राथमिकतामा राखेको घोषणापत्र तयारी समितिका सदस्य रामकृष्ण यादवले जानकारी दिनुभयो ।
स्थानीय तहमा जनतालाई समृद्ध बनाउन सबै तहमा निःशुल्क तथा गुणस्तरीय शिक्षा, सीपमूलक प्राविधिक विद्यालय, कृषि विकास केन्द्र, एक घर एक रोजगारी, प्रसूति सेवासहितको कम्तीमा १५ शैयाको सुविधासम्पन्न अस्पताल बनाउने विषय पार्टीको घोषणापत्रमा समावेश गरिएको बुझिएको छ ।
निर्वाचनमा ज्येष्ठ नागरिक भत्ता वृद्धि गर्ने, महिला स्वयम्सेविकाको सुविधा वृद्धि, सबै वडा, टोल जोड्ने पक्की सडक, उज्यालो बस्ती, घरघरमा स्वच्छ ऊर्जा, घरघरमा खानेपानी धारा र शौचालय, फोहर व्यवस्थापन केन्द्र, सुरक्षा पोष्ट, बाल, युवा तथा महिला क्लब, बारुण यन्त्र र एम्बुलेन्सको व्यवस्था गर्ने विषय काँग्रेसको प्रतिबद्धता हुनेछ भनिएको छ ।
नेता महेश आचार्य नेतृत्वको समितिले यसअघि विभिन्न चरणमा पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि, बुद्धिजीवी, पेसागत संस्थाका प्रतिनिधि लगायत पार्टी केन्द्रीय समिति र सांसदसँग छलफल गरी सुझाव सङ्कलन गरेको थियो ।