काठमाडौं, १३ बैशाख । प्रमुख प्रतिपक्षी दल र सत्तापक्षीय दलको टकरावका कारण बुधबार दिन संसद् बैठक बस्न सकेन । संविधान संशोधन प्रस्ताव अगाडि बढाउनुपर्ने सत्ता पक्षीय दलको अडान र स्थानीय तहको निर्वाचनपछि मात्र संशोधन प्रस्ताव अघि बढाउनुपर्ने विपक्षी दलको अडानका कारण बुधबार दिनभर संसद् बैठक बस्न नसकेको हो ।
स्थानीय तहको संख्या बढाउने प्रस्ताव फिर्ताको माग गर्दै एमालेले संसद अवरुद्ध गरेको हो। उसले स्थानीय तहको संख्या बढाउने विषयमा उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले संसदमा दिएको जवाफ चित्तबुझ्दो नभएको आरोप लगाएको छ ।
दिउँसो तीन बजे संसद बैठक बस्ने बताइएको थियो । पुनः पाँच बजेका लागि बैठक सारिएको थियो। प्रतिपक्षी दल र सत्तापक्षीय दलका नेताबीच कुरा नमिल्दा पाँच बजे बस्ने भनिएको बैठक अझैसम्म बस्न सकेको छैन् ।
सरकारले मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउन र सहमतिमा ल्याउनका निम्ति ११ जिल्लामा स्थानीय तह थप्ने निर्णय गरेको उपप्रधानमन्त्री थापाले बताउनुभयो। ‘मधेसी मोर्चालाई सहमतिमा ल्याउनका लागि ११ जिल्लामा स्थानीय तह थप्ने निर्णय गरिएको हो,’ थापाले भन्नुभयो ।
संसद् बैठक सुचारु गर्नका निम्ति संसद् भवनमै बसेको प्रमुख पाँच दलको बैठक समेत निष्कर्ष बिहिन बनेको छ। नेताहरुबीच औपचारिक र अनौपचारिक छलफल भए पनि संसद् बैठक बस्न नसकेपछि एमाले नेताहरु छलफलका लागि डक रेष्टुरेन्टमा पुगेका हुन् ।
संसद भवन नजिकैको डक रेष्टुरेन्टमा एमाले अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, नेताहरु वामदेव गौतम, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल लगायत सहभागी छन् ।